• २१ पुस २०८१, आइतबार

कालीगण्डकीमा बालिकाको शव फेला

blog

इमान सिं राना

रामपुर (पाल्पा), पुस १९ गते । नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव  कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।  

पुस ११ गते विहान १० बजे घरबाट विद्यालय हिड्नु भएका श्रेष्ठ घर नफर्किएपछि उहाँको खोजी कार्य भइरहेको थियो । आफन्तले खोजी गर्दै जाँदा शुक्रबार विहान ११ बजे रामपुर नगरपालिका –६, बाघको ढाँडनजिक नदी किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । शव रामपुर अस्पतालमा पोष्टमार्टम पश्चात आफन्तलाई बुझाइएको उहाँले जानकारी दिनुभयो । 

प्रहरीका अनुसार खोजीको क्रममा श्रेष्ठको चप्पल, मोबाइल, पछ्यौरा र डटपेन लगायतका सामग्री गत पुस १२ गते बाघको ढाँडनजिक भेटिएको थियो । समान भेटिएको स्थान भन्दा सय मिटर तल नदीमा शव फेला परेको हो । मृतक श्रेष्ठ गंगा माध्यमिक विद्यालय रामपुर –८, एक्लेटारमा कक्षा १२ मा अध्ययनरत हुनुहुन्थ्यो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।