• २१ पुस २०८१, आइतबार

बुटवल औद्योगिक व्यापार मेला

चार लाखले गरे अवलोकन, २५ करोडको कारोबार

blog

औद्योगिक व्यापार मेलाको समापन समारोहमा सहभागीहरु ।

छविलाल पाण्डे 

बुटवल, पुस १९ गते । बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोबार भएको आयोजकले जनाएको छ ।  

‘लगानी लुम्बिनीमा : समृद्धि देशमा’ नारासहित बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासङ्घको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा सञ्चालित मेला बिहीबार साँझ समापन भएको छ । 

१६ दिनसम्म सञ्चालन गरिएको मेलामा भित्रका स्टलमा सरदर २५ करोड रुपियाँ बराबरको कारोबार भएको बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष तथा मेला कार्य सम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराउनुभयो । 

मेलाको समापन कार्यक्रममा पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मुलुकको विकासको लागि औद्योगिक विकास र पलायन भइरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्नेगरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले युवा जनशक्तिको पलायनसँगै सीप र दक्षता पनि पलायन भइरहेको बताउँदै युवा जनशक्तिलाई रोक्न सकिएन भने देश पछाडि पर्ने भएकाले विदेशमाजस्तै काम गर्दै पढ्दै गर्ने परम्परा विकास गर्नुपर्ने भनाइ राख्नुभयो ।

मेला समापन कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, मेला मुल्याङ्कन समितिका संयोजक, बुटवल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, सङ्घका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टङ्कप्रसाद पोखरेल, राष्ट्रिय वाणिज्य बैंकका गणेशप्रसाद पौडेल, सङ्घका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टङ्कप्रसाद गैरे, महासचिव तथा मेलाका सदस्यसचिव मुक्तिप्रसाद अधिकारीलगायतले मेलामा दर्शकको उत्साहपूर्ण सहभागिताले स्टलधनीलाई सन्तुष्टि मिलेको बताउनुभयो । 

२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य सङ्घले गरेको यो मेला २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । 

औद्योगिक उत्पादनको प्रवर्धन, कृषि, पर्यटनको प्रवर्धन तथा व्यवसायीकरणका लागि महत्वसाथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाइल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलिनमा ५ सय स्टल थिए । 

मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक साङ्गीतिक कार्यक्रम भएको थियो । 

मेलामा विविध सांस्कृतिक कार्यक्रमसहित लोकदोहोरी प्रतियोगिता, भ्वाइस अफ बुटवल, विद्यालयस्तरीय लोकदोहोरी प्रतियोगिता, माध्यमिक विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यटिफियर, टिकटकलगायतका प्रतियोगिता गरिएको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईंले जानकारी दिनुभयो ।