• २१ पुस २०८१, आइतबार

खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

blog

मन्त्री मानविर राई समक्षमाग प्रस्तुत गर्नुहुँदै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस १९ गते । तनहुँको शुक्लागण्डकी नगरपालिका-७ खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को खैरेनीटारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । 

नेपाली सेनाको श्री नम्बर ३ वाहिनी अड्डाले प्रयोग गरेको स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको नाममा रहेको जग्गा इलाका प्रशासन कार्यालय स्थापनाका लागि उपलब्ध गराउन रक्षामन्त्री मानवीर राईसमक्ष अनुरोध गरिएको छ । तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य  शङ्कर भण्डारीको नेतृत्वमा तनहुँका जनप्रतिनिधिले मन्त्री राईलाई भेटी इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । 

तनहुँको दक्षिणी तथा पश्चिम भेगका नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरिदिन माग गरिएको थियो । जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झटरहित एवं गुणस्तरीय सेवा गरी सङ्णीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने सांसद भण्डारीको भनाइ थियो । तनहुँमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन टाढा धाउनु पर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि गृहमन्त्रीलाई भेट गरिएको सांसद भण्डारीले बताउनुभयो । 

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले जनतालाई सेवा लिन आउन समस्या भइरहेकाले इलाका प्रशासन कार्यालयको आवश्यकता खड्किएकोले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताउनुभयो । 

पण्डितले बिहीबार रक्षामन्त्रीका साथै प्रधान सेनापतिलाई भेटि माग राखिएको र प्रधानमन्त्रीलाई भेट्ने तयारी भइरहेको बताउनुभयो । भेटमा मन्त्री राईले यसबारेमा थप छलफल गरी मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रतिबद्धता जनाउनुभएको थियो । 

जिल्ला प्रशासन कार्यालय तनहुँ सदरमुकाममा हुँदा सदरमुकामबाट टाढा रहेका दक्षिण पश्चिम भेगका घिरिङ गाउँपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका केही वडाका बासिन्दालाई सहजरुपमा सेवा प्रवाह गर्न खैरेनीटामा इलाका प्रशासन कार्यालय आवश्यक नगर प्रमुख पण्डितको भनाइ छ ।