• २१ पुस २०८१, आइतबार

स्थानीय जातको आलु उत्पादनमा कृषक

blog

बाजुरामा बुढीगङ्गा ८ का स्थानीय मीनबहादुर बुढाकाे स्थानीय जातको आलुखेती । तस्बिर : मिनबहादुर बुढा

शेरबहादुर सार्की

बाजुरा, पुस १९ गते । बाजुराका अधिकांश किसानले पछिल्लो समय स्थानीय जातको आलु उत्पादनमा जोड दिन थालेका छन् । प्राङ्गारिक मलबाट उत्पादन हुने गरेको उन्नत जातको आलुभन्दा यहाँको अर्गानिक स्थानीय जातको आलु निकै पौष्टिक हुने गरेको भन्दै पछिल्लो समय स्थानीय जातको आलु उत्पादनमा जोड दिएका हुन् । 

स्वास्थ्यका लागि निकै लाभदायक स्थानीय जातको आलु लगाउन  सबैले थालेको बुढीगङ्गा नगरपालिका ७ का स्थानीय मीनबहादुर बुढाले बताउनुभयो।

उहाँले भन्नुभयो, "बजारमा आउने गरेको आफूभन्दा यहाँ उत्पादन गरेको आलु स्वास्थ्यका लागि निकै उपयोगी हुने गरेको पछिल्लो समय स्थानीय जातको आलु बढी लगाउने गरेको छु । अहिले झण्डै  चार रोपनीमा स्थानीय आलु लगाएको छु । माघ एक गते निकाल्ने तयारी छ ।"

बाजुराको बडिमालिका ढम्कने, मना कोर्ध, ओलेना र खप्तड छेडेदह गाउँपालिकाको काँडा जयवागेश्वरीलाई आलुको पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । यहाँका स्थानीय जातको आलु राम्रो उत्पादन हुन्छ । 

यहाँका स्थानीयले प्रायः पुस्ताले लगाउँदै आएको स्थानीय जातकै आलु लगाउने गर्छन् । यहाँ उत्पादन गरेको आलु अहिले जिल्लासँगै जिल्लाभन्दा बाहिर बिक्रीका लागि जान्छ । यहाँका स्थानीय तहले पछिल्लो समय स्थानीय जातको आलुखेती गर्नका लागि अनुदानका कार्यक्रममा सञ्चालन गर्दै आएका छन्।

त्यति मात्र होइन अधिकांश स्थानीय तहले यहाँको स्थानीय जातको उत्पादनलाई विद्यालयको खाजाका रुपमा अनिवार्य राखेका छन् । जसका कारण अहिले स्थानीय जातको आलु उत्पादनमा बढी जोड दिन थालेका हुन् ।

बाजुराको हिमाली, जगनाथ स्वामिकार्तिक बुढीनन्दा बडिमालिका गौमुल बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदहमा आलुको उत्पादन राम्रो छ । पहिले यहाँ आलु राम्रो उत्पादन हुने गरेको भए पनि त्यो आलुले कतै बजार नपाउने गरेकोले यहाँका स्थानीयले विस्तारै आलु लगाउन छोडका थिए । अहिले गाउँ बस्ती सडक सञ्जालको पहुँचमा भएसँगै तथा स्थानीय तहले पनि स्थानीय जातको आलु उत्पादनमा बढी जोड दिन थालेपछि अहिले आलु उत्पादनमा जोड दिन थालेका हुन् ।

बाजुराको एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिकटन आलु उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।