• २१ पुस २०८१, आइतबार

मिलेमतोमा बढाइयो चिनीको मूल्य

blog

रङ्गेली समाचारदाता

विराटनगर, पुस १९ गते  । ठुला चिनी मिलले उत्पादन सुरु गर्नेबित्तिकै चिनीको उपभोक्ता मूल्य बढाएका छन् । साना मिलबाट उत्पादन सुरु हुँदा तल झरेको मूल्य ठुला मिलबाट उत्पादन सुरु भएपछि एक सातामै प्रतिकिलो आठ रुपियाँले बढेको हो ।

उखु क्रसिङ गरेर नयाँ चिनी बजारमा आउँदा प्रतिकेजी मूल्य ८४ चलेको थियो । साना मिल सञ्चालनमा आएपछि प्रतिकिलो ८४ रुपियाँबाट पनि चिनीको मूल्य तल झरेपछि ठुला मिलले क्रसिङ सुरु गरेका थिए तर ठुला मिलले क्रसिङ सुरु गरेपछि चिनीको मूल्य एक सातामै आठ रुपियाँ प्रतिकेजी वृद्धि भएको विराटनगरका व्यापारी जीवन रिजालले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “सुरुमा ८६ रुपियाँ प्रतिकेजी खरिद गरेको चिनी अहिले ९१ रुपियाँ पुगेको छ । ठुला उद्योगले उत्पादन सुरु गर्दै कार्टेलिङ सुरु भयो ।”

८२ रुपियाँबाट सुरु भएको नयाँ चिनीको मूल्य ९२ रुपियाँसम्म पुग्ने अवस्थालाई सरकारले रोक्नु पर्छ । नेपालको उत्पादनले छ महिनालाई मात्रै पुग्छ, सुरुमै मूल्य बढाएर उद्योगीले उपभोक्तालाई सीमापार बजार पठाउन खोजिरहेका छन् ।” 

नेपालमा उत्पादन हुने चिनीको मूल्य बढ्यो भने भारतबाट अवैध आयात बढ्ने सम्भावना बढ्छ । उत्पादकबाट चिनी खरिद गरेर कारोबार गर्दै आएका रिजालले एक क्विन्टलमा २२५ रुपियाँ मुनाफा राख्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भारतमा अहिले प्रतिकेजी ३८ रुपियाँमा चिनी पाइन्छ । उत्पादन लागत उस्तै हुँदा नेपालमा यति धेरै बढाउन मिल्दैन । भारतमा सस्तो पर्ने भएपछि उपभोक्तादेखि ठुलो परिमाणमा खपत गर्ने उद्योगले चिनीको अवैध पैठारी गर्न सक्ने सम्भावना रहन्छ ।” 

इस्टर्न सुगर मिलबाट उत्पादन सुरु

कोशी प्रदेशका तीन जिल्ला सुनसरी, मोरङ र झापाका किसानले उत्पादन गरेको उखुको क्रसिङ समयदेखि नै सुरु भएको छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरस्थित बर्जु गाउँपालिकामा रहेको इस्टर्न सुगर मिल प्रालिले क्रसिङ सुरु गरेको हो ।

 इन्दुशङ्करका दुई मिलबाट उत्पादन

सर्लाही समाचारदाताका अनुसार सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले आफूसँग भएका दुई वटै मिल सञ्चालन गरेर उखु क्रसिङ गर्न थालेको छ । 

किसानले पर्याप्त उखु ल्याउन थालेसँगै उद्योगले दैनिक ३५ हजार र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुवै मिल चालु गरेको हो । उद्योगका उखु प्रबन्धक योगनारायण रजकले दुई वटै मिल चलाएर उखु क्रसिङलाई तीव्रता दिएको जानकारी दिनुभयो ।