• २० पुस २०८१, शनिबार

पाल्पामा भारतीय स्कार्पिओ दुर्घटना : छजना घाइते

blog

दुर्घटनाग्रस्त स्कार्पिओ । तस्बिर : गोप

रेखीराम राना

तानसेन, पुस १७ गते । पोखराबाट पाल्पा हुँदै सुनौलीतर्फ गइरहेको भारतीय स्कार्पिओ दुर्घटनामा परेको छ । सिद्धार्थ राजमार्ग हुँदै सुनौलीतर्फ गइरहेको बिआर २२ बिडी २०३० नम्बरको भारतीय स्कार्पियो बगनासकाली गाउँपालिका–३, आर्यभाङ्ज्याङ् नजिकै बुधबार बेलुकी ७ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटना परी छजना घाइते भएका छन् । 

स्कार्पिओ सडकदेखि १५० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । दुर्घटनामा परी छजना भारतीय नागरिक घाइते भएको खनालले जानकारी दिनुभयो । घाइतेको अवस्था भने सामान्य रहेको छ । 

घाइतेलाई उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएको छ । दुर्घटना के कारणले भएको भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।