• २७ पुस २०८१, शनिबार

राष्ट्रिय एकताको आधार ‘दिव्योपदेश’

blog

श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (१७७०–१८३१) को अन्तिम नुवाकोट यात्रा इसाको १७७४, नोभेम्बर ३ का दिन भएको थियो । त्यही यात्रामा उनले आफ्ना दुई भाइ र भारदारहरूलाई नैतिक उपदेश तथा सारगर्भित व्याख्यान दिएका थिए, जो नेपालीहरूका लागि ‘दिव्य–उपदेश’ का रूपमा प्रसिद्ध छ । उक्त उपदेश सन् १७७४ डिसेम्बर महिनाको अन्त्यतिर दिव्योपदेशका आधारमा नीतिको वर्गीकरण गर्दा वैदेशिक, आर्थिक र प्रशासनिक गरी तीन वर्गमा विभाजन गर्न सकिन्छ । 

क. वैदेशिक नीति 

श्री ५ पृथ्वीनारायण शाहको ‘दिव्य–उपदेश’ का आधारमा उनको वैदेशिक नीतिलाई हेर्दा त्यस सम्बन्धमा उनलाई ज्ञान दिने पहिलो व्यक्ति उनैका मामा पाल्पाली युवराज उद्योत सेन हुन् । भान्जाले उपत्यका जित्ने आफ्नो इच्छा मामालाई बताउँदा “लमजुन् भन्याको गरुड हो. गोर्षा भन्याको सरप हो, नेपाल भन्याको भ्यागुतो हो, अघी गरुडको आषा छलनु, तब सर्पले भ्यागुतो षान पाउँछ” भनी उनले पृथ्वीनारायण शाहलाई पहिलो पटक कूटनीतिक ज्ञान दिए । 

उनलाई नेपालको भौगोलिक ज्ञान थियो । त्यसैले यो राज्य दुई ढुङ्गाको तरुलजस्तो छ भने । यसरी आफ्नो देशलाई दुई विशाल राज्यबिच थिचिएको पाएर नै उनले सामयिक मार्गदर्शन दिएका हुन् । यही आधारमा उनले वैदेशिक नीति निर्धारण गरे । उनी भन्छन्, “यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ. चीन वादशाहसित ठुलो घाहा त राषनु तर त्यो महाचतुर छ । हिन्दुस्थाना दवाई राषेछ. सरजिमी मा परिरहेछ. हिन्दुस्थाना जाग्यो भन्या कठिन पर्ला.” यस भनाइले पृथ्वीनारायण शाह उत्तरतिरका तिब्बत र चीनसितभन्दा दक्षिणपट्टि अङ्ग्रेजहरूसित बढी सशङ्कित थिए भन्ने पुष्टि हुन्छ । त्यसैले उनीहरूसित कुनै प्रकारको शत्रुता नराख्नू, मित्रता कायम गरेर पनि उनीहरूलाई नगिच नपार्नू र देशभित्र नहुल्नू भनी दूरगामी सन्देश दिएका हुन् । उनी आफ्नो देश एकत्रित होस् र बलियो होस् भन्ने चाहन्छन् र त्यसका लागि आफ्ना सम्पूर्ण प्रजाहरूलाई “मेरा साना दुष ले आज्र्याको मुलुक होइन. सबै जातको फूलबारी हो. सबैलाई चेतना भया” भनी सचेत गराउँछन् ।  

अङ्ग्रेजहरूसँग युद्ध परेमा के–कस्तो किसिमले युद्ध गर्नु पर्छ, त्यसबारे पनि उनले सामयिक चिन्तन प्रस्तुत गर्दै अङ्ग्रेजसँग युद्ध गर्ने तरिकामा गुरिल्ला युद्धलाई नै प्रधानता दिए । वास्तविकता पनि त्यही देखिन्छ किनभने उनले यस्तै युद्ध गरेर गुर्गिन खाँलाई मकवानपुरको युद्धमा र किनलकलाई सिन्धुलीको युद्धमा नराम्ररी हराएर भगाएका थिए । त्यसैले आफ्ना सन्तान र प्रजालाई पनि त्यस्तै “...जाइ कटक न गर्नु. झिकी कटक गर्नु” भनी उनले शाश्वत सन्देश दिएका हुन् ।  

ख. आर्थिक नीति 

दिव्य–उपदेशका आधारमा पृथ्वीनारायण शाहको आर्थिक नीतिलाई नियाल्दा बढी राजनीतिक दृष्टिले प्रेरित देखिन्छ भने राष्ट्रियताका दृष्टिले प्रेरित पनि भएको पाइन्छ । उनका आर्थिक सुधार तथा कार्यव्रmमहरू गोरखाकै राजा राम शाह, उपत्यकाभित्रका राजा जयस्थिति मल्ल र कान्तिपुरका राजा महेन्द्र मल्लका सुधारकार्यहरूबाट प्रभावित भएको पाइन्छ । यसरी आफ्नो देशको स्थिति सुधार्ने इच्छानुसार उनले तिब्बतसँग व्यापार गरी आर्थिक स्थिति बलियो बनाउने उद्देश्यले ‘दिव्योपदेश’ मा “टक्सार पनि चोषो चलाउन” भनी सारपूर्ण सन्देश दिएका हुन् । देशको आर्थिक अवस्था सुधार्न उनले भएका खानीहरूलाई सञ्चालन गर्नतर्फ ध्यान दिए । खानीका विषयमा उनले “षानी भएका ठाउँमा गाउँ भया पनि, गाउँ अरू जग्गामा सारी कन पनि षानी चलाउनु” भने । त्यसबाट निस्केका ताँवा, राँग र सिसाहरू निकासी भए । यसैले उनको लडाइँको खर्च थामिरहेको थियो तर पछि फलाम बाहिर पठाउन बन्द गरियो र गोरखामा नै बन्दुकहरू बनाउन थालियो ।

आफ्नै देशमा बनेको घरेलु कपडालाई महŒव दिने उनको नीति थियो । त्यसैले आफ्नो शासनकालमा उनले देशमा कपडा बुन्न जान्नेहरूलाई उच्च प्राथमिकता दिएर तिनैद्वारा तयार गरिएका स्वदेशी कपडा नै लगाउनुपर्ने बाध्यता गराई विदेशी कपडाहरू देशभित्र प्रवेश हुन नदिने नीति अँगाले । त्यस नीतिमा कति कडाइ गरिएको थियो भन्ने कुरा ‘दिव्य–उपदेश’ मा उल्लिखित भनाइले नै पुष्टि गर्दछ– “देश का कपरा लगाउनालाई मन्हाई गरि दिनु.” तर इतिहासशिरोमणि बाबुराम आचार्यले पृथ्वीनारायण शाह आफ्नो उक्त नीतिमा पूर्णतया सफलता प्राप्त गर्न नसके पनि उपत्यका र पहाडी भागमा भने सफल भएको कुरा उल्लेख गरेका छन् । श्री ५ पृथ्वीनारायण शाहले आफ्नै देशमा बनेका कपडालाई त्यति महŒव दिनाका कारणहरूमा आर्थिक र राजनीतिक पक्ष प्रमुख छन् । उनका दृष्टिमा नरम कपडाहरू विलासी हुने हुँदा त्यसको प्रयोगले नेपालीको आदत बिग्रन्छ भन्ने थियो । त्यसैले विदेशी व्यापारीहरूलाई चारकोसे झाडीदेखि यता आउन उनले प्रतिबन्ध लगाएका हुन् । उनीहरू आए भने देशलाई नै कङ्गाल बनाउँछन् भन्ने उनको धारणा थियो । 

यसरी एकातिर देशभित्रकै घरेलु उद्योगलाई हौसला दिएर विकसित गरी आफ्ना देशवासीलाई स्वावलम्बी हुन उनले प्रोत्साहन दिए भने विदेशी व्यापारीहरूलाई नेपाल–प्रवेशमा रोक लगाई राष्ट्रियताको सुरक्षा पनि गरे । त्यसो गर्नु तत्कालीन परिवेशमा नितान्त आवश्यक पनि थियो । उनले आफ्नो देशमा बनेका घरबुना खाडी, कोरा, पाखी आदि कपडाहरूलाई राष्ट्रियताको आधार मानेका थिए भने ती कपडाहरूको अपमानलाई उनी राष्ट्र र राष्ट्रियताको अपमान ठान्थे । देशको राजस्वलाई बचाई फजुल खर्च नगर्नेतर्फ सङ्केत गर्दै उनी भन्छन्, “आफ्ना देशका कपरा बन्न जान्यलाई नमुना देखाइ सघाउनु र बन्न लगाउनु र यस्त भया नगद विदेश जाँदैन ।”  आफ्नो देशको आर्थिक स्थितिलाई बलियो पार्न आफ्नो वनजङ्गलमा प्राप्त हुने जडीबुटी विदेशमा लगेर बेच्ने, धन ल्याउने र उक्त धन अरू उन्नतिका कार्यमा खर्च गराउने उनको प्रमुख उद्देश्य थियो । त्यसैले दिव्योपदेशमा उनले “देसको जिनिस जडी–बुटी देस लैजानु र नगद षैचनु र राषनु” भनेका हुन् । त्यसै गरी कृषिलाई पनि महŒवपूर्ण स्थान दिएको कुरा पनि यसै दिव्योपदेशमा पाइन्छ । उनले भनेका छन्– “जग्गामा घर भया पनि घर अरू जग्गामा सारी कुलो काटी षेत बनाई अवाद गर्नु ।” नेपाललाई हिमाली क्षेत्रको व्यापारिक केन्द्र बनाउने उनको उद्देश्यबाट यो आर्थिक नीति निकै महŒवपूर्ण बनेको छ । उनले नेपालको राष्ट्रियता बचाउने सन्दर्भमा आफ्ना प्रजालाई स्वदेशी सामानप्रति प्रोत्साहन दिए र विदेशी सामानप्रति निरुत्साह उत्पन्न गराए । 

ग. प्रशासनिक नीति  

दिव्योपदेशका आधारमा पृथ्वीनारायण शाहको प्रशासनिक नीति हेर्दा जुनसुकै दृष्टिकोणले पनि नेपाल राज्यलाई सङ्गठित गर्ने र आफ्नो देशमा अशान्ति हुन नदिने नीति लिएको देखिन्छ । प्रशासनसम्बन्धी कार्य र नीतिमा उनी पहिलेदेखि नै सतर्क हुन थाले, किनभने पहिलो चोटि नुवाकोटमाथिको आव्रmमण असफल हुनाको मुख्य कारण चुस्त प्रशासन र व्यवस्थित योजना नहुनु हो भन्ने ठानी उनले जहिले पनि व्यवस्थित योजना र प्रशासनिक पक्षलाई महŒव दिएका थिए । यसो नगरेको भए नेपालको एकीकरण सम्भव पनि थिएन । 

त्यस्तै भ्रष्टाचारी कर्मचारीको आडमा देशले उन्नति गर्न सक्दैन भन्ने कुरा बुझेका पृथ्वीनारायण शाह व्यवस्थापिका र कार्यपालिकाको नियुक्तिमा राम्ररी ध्यान पु¥याउँथे । जनताले मन पराएको मानिसलाई उच्च स्थान र पद दिनु पर्छ भन्ने उनको सोचाइ थियो, किनकि राज्यको ढुकुटी भनेको नै प्रजा हुन्, उनीहरूका विचारलाई महŒव दिनु पर्छ र उनीहरूको ख्याल राख्नु पर्छ भन्ने उनको विचार थियो । त्यसैले उनी भन्छन्, “प्रजा मोटा भया दर्बार बलियो रहन्छ. राजाका भण्डार भन्याका रैतानहरू हुन्” । 

उनी तत्कालीन प्रशासनलाई फेर्न होइन, सुधार्न चाहन्थे । त्यसैले आफू गोरखाबाट नुवाकोट सर्दा पनि रणरुद्र शाहलाई गोरखाको प्रशासन चलाउन भनी छाडेका थिए । उनका विचारमा राज्यको सम्पूर्ण कार्य सरकारले आफैँ गर्नु पर्छ, जसले गर्दा सरकारको ढुकुटी बढ्न जान्छ । देशको स्थिति सुधार्नाका निम्ति काम गर्ने मानिसलाई धन होइन, सम्मान दिनु पर्छ । त्यसले गर्दा कातर मानिस दरबारभित्र छिर्न सक्दैनन् किनकि धन भएको मानिस विलासी र कातर हुन्छ । त्यसले युद्ध मात्र हैन, राज्यको सुरक्षा पनि गर्न सक्दैन भन्ने उनको धारणा थियो । उनका विचारमा जसलाई पायो उसैलाई वा निकट र सन्निकटको मानिसलाई सम्मान दिँदा योग्य मानिसको कदर हुँदैन । जब योग्य मानिसको कदर हुँदैन तब राज्य–व्यवस्थामा त्यसको नराम्रो असर पर्छ भन्ने उनको धारणा थियो । त्यसैले उनी भन्छन्, “आदमी हेरी हुर्मत मात्रै राषी दिनु. क्यान भनौला. दवलथ भया का ले दरबारमा पसी मार्न, मर्न सकैनन् र हरिप को, चमक हुन्छ” (योगी ऐजन) त्यसैले कीर्तिपुरको पहिलो युद्धमा कालु पाँडेको मृत्युपछि उनले उक्त रिक्त पदमा तुरुन्त कसैलाई नियुक्त नगरी ५ वर्षपछि कालु पाँडेका छोरा वंशराज पाँडेलाई योग्य ठानी उक्त पदमा नियुक्त गरेका थिए । 

पृथ्वीनारायण शाह योग्य व्यक्तिको कदर गर्न जान्दथे र जनताका विचारलाई स्वीकार गर्दथे भन्ने कुरा ‘कालु पाँडेलाई काजी पद’ दिएबाट पुष्टि हुन्छ । उनी भन्छन्, “दुनिञा जस् देषी राजि रहन्छन् उसैलाई काजाइ दिनु भन्ने शास्त्रमा पनि कहेको छ. दुनिञामा बुझी हेरूँ भनी बुझी हेर्दा दुनिञाबाट पनि कालु पांडेको चाह रहेछ र कालु पांडेलाई कजाइ दिनु भया मेरा मनमा ता विराज वषेतिलाई कजाइ दिन आटेको थियो. तर ज्याधा बुद्धि पांडेकै ठह¥यो” । यसरी उनले को योग्य छ, जनताले कसलाई मन पराउँछन् भन्ने कुरा बुझी योग्य व्यक्तिलाई कदरसाथ प्रशासनमा राखी राज्यको सुरक्षा गर्ने र नियुक्ति कार्यमा दूरदर्शिता र पारदर्शिताको सदुपयोग गरेको देखिन्छ । 

देशको सुरक्षाका लागि भौगोलिक सिमाना, नाका र गौँडामा कस्ता व्यक्तिहरू राख्नु पर्छ भन्ने कुरामा पनि उनले उपयुक्त उपदेश दिएका छन् । देशको प्रशासन चलाउने र सुरक्षा गर्ने कार्यमा आफूले नचिनेको विदेशी व्यक्तिलाई दरबारभित्र नछिराउनु, तिनीहरूले दरबारलाई पूर्ण रूपमा बिगारिदिन्छन् भन्ने उनको उपदेश र विचार पाइन्छ । यस प्रकार उनको ध्यान अन्तिम अवस्थातिर मात्र गएको देखिन्छ किनकि उनको अन्त्य समयतिर कान्तिपुरमा व्रजनाथ पण्डित, विदुर शाहकी आमा र सर्वजित रानाको एउटा अगोर्खाली गुट तयार भएको थियो ।   

राजा र जनताबिचको सम्बन्ध सुमधुर हुनु पर्छ भन्ने उनको विचार थियो । राज्यको मुख्य सार भन्नु नै सिपाही र रैतीहरू हुन् । आफ्नो स्थायित्व कायम गर्नमा र वरपरबाट आव्रmमण भएमा यिनीहरूको सहयोग चाहिन्छ । त्यसैले सिपाही र रैतीहरूलाई आफ्नो बनाइराख्न, देशको सुरक्षा गर्नाका निम्ति सैनिकहरूलाई पूरा तालिम गरिराख्नु र सिपाहीका साथै जनतालाई पनि सुविधा दिइराख्नु, किनकि उनीहरूले सुविधा प्राप्त गरिरहेका खण्डमा कसैले पनि उनीहरूलाई फकाउन सक्दैनन् र आफ्नो काम सफल हुन्छ भन्ने उनको विचार थियो । 

राजा भएर आफ्ना जनतालाई परेको अन्याय राम्ररी विचार पु¥याएर हेर्नु पर्छ, देशमा अन्याय पर्न दिनु हुँदैन । यसले गर्दा प्रजामा अशान्ति हुन्छ । नियाँ–निसाफ बिगार्नु भनेको घुस खाने र दिने दुवै कार्य हो । जब कसैले कसैलाई घुस दिन्छ र घुस खान्छ भने त्यहाँ अन्याय हुन सक्छ । त्यसैले उनीहरू राज्यका ठुला शत्रु हुन् । त्यस्ता व्यक्तिको घर–खेत दुवै लिएमा कुनै प्रकारको पाप लाग्दैन भन्ने उनको विचार छ । यसैले दिव्योपदेशमा उनले भनेका छन्, “राजाले ठुला निञा निसाप हेर्नु. अन्याय मुलुकमा हुन न दिनु. निञा निसाप बिगान्र्या भन्या को घुस दिन्या र घुस षान्या इन दुई का ता धन जीव गरि लिया को पनि पाप छैन. इ राजा का मह सतुर हुन्” ।

न्यायालयको स्वरूप केकस्तो हुनु पर्छ र केकसरी सञ्चालन गर्नु पर्छ भन्ने विषयमा पनि उनले आफ्नो विचार व्यक्त गरेका छन् । न्याय गर्ने ठाउँमा सोझा, प्रस्ट बोल्ने, कसैसँग नडराउने तर धर्मसित डराउने व्यक्तिहरूलाई राख्नु पर्छ भन्ने उनको दृष्टिकोण पाइन्छ । त्यसैले अदालतमा ठकुरीलाई डिठ्ठा, मगरलाई विचारी र पण्डितलाई कचहरीमा राखी निञा– निसाफ गराउनु भनी उनी उपदेश दिन्छन््, “अदालथ मा ठकुरी जाचि दिष्ठा राष्नु. मगर जाचि विचारी थाप्नु. कचहरी पिछे यक यक पराजीत राषी निञा सास्त्र वमोजिम अदालथ चलाउनु” ।  

त्यसै गरी अदालतबाट प्राप्त रकमलाई राजाले आफ्नो काममा नलगाउनु र दरबारभित्र पनि नपसाउनु त्यो रकम धर्म–कर्मको काममा नै खर्च गर्नु भनी उनले उपदेश दिएका छन् । यसले गर्दा प्रजामा असन्तोष हुँदैन भन्ने उनको विचार थियो । त्यसरी अदालतबाट प्राप्त भएको रकम राष्ट्रको हो, राजाको होइन भन्ने कुरा उनले स्पष्टसँग दिव्योपदेशमा उल्लेख गरेका छन् भने आफ्ना प्रजाहरूलाई पनि आफ्नो कुल–धर्म नछोड्नु, स्वामी–भक्तको उद्धार गर्नु भनी दिएका छन् । यस प्रकारका सन्देश र सल्लाह उनले जयन्त रानाको व्रिmयाकलाप देखेपछि दिएका हुन् । 

उनी ज्यादै धार्मिक थिए र कुनै पनि कार्यको थालनी देवी–देवताको पूजाआजा गर्नुका साथै साइत हेराएर मात्र गर्दथे । साधुसन्तहरूको पनि मान मर्यादा राख्थे । त्यसैले आफ्नो दिव्योपदेशमा उनले धर्मशास्त्रको महŒवलाई पनि उच्च स्थान दिई देशको प्रशासनिक र सैनिक व्यवस्थालाई त्यसका आधारमा बलियो र व्यवस्थित बनाउने सल्लाह तथा नैतिक उपदेश दिएका हुन् । त्यस्तै उनी कुनै काम गर्दा छिमेकी राष्ट्रहरूको विचार बुझेर गर्थे । 

उनले विदेशी संस्कृतिलाई देशभित्र नछिराउने नीति लिएको पाइन्छ । विदेशी नाचगानको बहिष्कार गर्नु पर्छ र त्यसका सट्टामा स्वदेशी संस्कृतिलाई प्रोत्साहन दिनु पर्छ भन्ने उनको नीति छ । विदेशी संस्कृति देशभित्र छिरेको खण्डमा जनता भाँडिन्छन्, देशको दौलत र गोप्य कुरा बाहिर जान्छ, अनि देशको अवस्था बिग्रन्छ र कमजोर हुन्छ भन्ने उनको विचार ‘दिव्य–उपदेश’ मा भेटिन्छ । यसरी पृथ्वीनारायण शाहको वैदेशिक, आर्थिक र प्रशासनिक नीतिलाई नियाल्दा नेपाली नीतिपरक साहित्यको त्रिवेणीका रूपमा उनको दिव्योपदेश रहेको पाइन्छ र यसलाई नेपाली नैतिक–औपदेशिक धाराको प्रथम मूल प्रवाहका रूपमा लिन सकिन्छ ।   मधुपर्क