• १८ पुस २०८१, बिहिबार

‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण

blog

एकिन्द्र तिमिल्सेना

टीकापुर, पुस १५ गते । आख्यानकार स्वर्गीय गगनसिंह थापाको नवौं कृति ‘मेरा गाउँको खड्क्या मन्त्री’ लोकार्पण गरिएको छ । उपन्यासका प्रमुख पात्रहरू खडक्या दमाई र धौंरी दमाईलाई राखेर उपन्यासको लोकापर्णण गरिएको हो । 

उपन्यासको प्रकाशक गगन फाउन्डेसनका अध्यक्ष हिक्मत थापाले वि.सं. २०३२ देखि २०४७ सालसम्मको अवधिमा लेखकको सामिप्यमा रहेका र उपन्यास लेख्ने प्रेरणा दिएकोमा जीवित पात्रलाई धन्यवाद दिनुभयो । 

‘इशाराले सञ्चार गर्ने धौली र थोरै बोल्ने खड्क्या पहिले गाउँमा माग्थे अहिले टीकापुर बजारमा माग्छन’ अध्यक्ष थापाले भन्नुभयो, ‘धेरै व्यवस्था भोगेका र राजनीतिमा जीवन व्यतित गरेका लेखक खड्क्या जस्ताको जीवनमा परिवर्तन नआएको देखेर चिन्तित हुनुहुन्थ्यो, लेखकको देहान्तपछि बुढ्यौली लागेका उपन्यासका पात्रहरूलाई सहयोग गर्दैछौं ।’ 

अध्यक्ष थापाले उपन्यास बिक्रीबाट प्राप्त हुने न्युनतम एक लाख रुपियाँ उपन्यासका पात्र खड्क्या दम्पतीला दिइने घोषणा गर्नुभयो । उपन्यासको लोकार्पण कार्यक्रममा पुस्तकको बिक्री पहिले नै दैलेखका दिलिप आचार्यले उपलब्ध गराएको दस हजार रुपियाँ उपन्यासका पात्रलाई प्रदान गरिएको छ । 

उपन्यासको समालोचना गर्दै साहित्यकार उपप्राध्यापक डा. धनकृष्ण उपाध्यायले आख्यानकार थापाले समाजमा हेपाईमा परेका व्यक्तिलाई मुख्य पात्रका रूप देखाई तत्कालीन राजनीति, प्रेम, प्रकृति, गाउँसहरका सन्दर्भलाई आलङ्कारिक रूपले प्रस्तुत गरिएको उपन्यासमा यथार्थ र काल्पनिकताको मिश्रण रहेको र उत्कृष्ट लेखनशैली, आञ्चलिकता र संयोगान्त दृश्यले उपन्यास पाठकबिच लोकप्रिय हुने बताउनुभयो ।

उपन्यासमा अछामबाट कैलाली बसाइ सरेका खड्क्या दम्पतीले समाज, राजनीति, सरकारी निकायबाट भोग्नु परेको तितो यथार्थलाई झल्काएको छ । कैलाली, काठमाडौंको प्रसङ्ग, तत्कालीन पञ्चायती व्यवस्था र त्यसका समर्थकको नागरिकप्रतिको व्यवहार, रोजगारीका लागि भारत जाँदा पाउने दुःख, परिवार व्यवस्थापनका सुखदुःख समेटिएको छ ।

टीकापुरमा सहरी विकास गर्ने तत्कालीन मन्त्री खडकबहादुर सिंहको नाम चलेका बेला टीकापुर नजिकको कटासे बजारमा बस्नुहुने खड्क्या दमाईलाई पनि सबैले खड्क्या मन्त्री भनेर बोलाउने गर्थे । चौध अध्याय रहेको उपन्यासको प्रकाशन गगन फाउन्डेसनले गरेको हो ।

२०७१ सालमा कर्णालीको छेउछाउ, पुर्खाको चिठी, मेरो मधुशाला, उज्ज्वली, अस्ताचलको ढोकाबाट उपन्यास प्रकाशित छन् । वि.सं. २००५ सालमा अछाममा जन्मनु भएका थापा शिक्षक, दुई पटक जिल्ला विकास समिति कैलालीको सदस्य भएका उहाँको वि.सं २०७७ साल कात्तिकमा निधन भएको थियो ।