• १८ पुस २०८१, बिहिबार

फाल्गुनन्द कपका लागि मच्छिन्द्र र चर्च ब्वाइज भिड्दै

blog

फिदिम, पुस १५ गते । फिदिम माविको खेल मैदानको वातावरण आज तातिने भएको छ । आज ११औँ फाल्गुनन्द गोल्ड कपको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बिच रोमाञ्चक टक्कर हुँदै छ । यो खेल मात्र एक उपाधि भिडन्त नभई, काठमाडौँका दुई ए डिभिजनका प्रतिष्ठित क्लबहरूबिचको प्रतिष्ठाको लडाइँ पनि हो । प्रि म्याच प्रेस कन्फ्रेसमा दुवै पक्षका प्रशिक्षकले आआफ्नो जितको दाबी पेस गरेका छन् । 

मच्छिन्द्र फुटबल क्लबको तयारी

पछिल्ला प्रतियोगिताहरूमा प्रभावशाली प्रदर्शन गर्दै आएको मच्छिन्द्र फुटबल क्लब यो खेलका लागि प्रबल दाबेदार मानिन्छ । टिमका सशक्त खेलाडीहरू देवेन्द्र तामाङ, विशाल घलान, उत्सव राईले आज पनि उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । प्रशिक्षक सन्तोष न्यौपानेले भन्नुभयो, “हाम्रो लक्ष्य केवल उपाधि हो । हामीसँग मैदानको अनुभव पनि छ । खेलाडीहरू पूर्ण रूपमा तयार छन्, र टिमको सामूहिक प्रयासले आजको खेल जित्नेछ ।”

चर्च ब्वाइज युनाइटेडको रणनीति

यस पटक चर्च ब्वाइज युनाइटेडले फाइनलसम्मको यात्रा रोमाञ्चक बनाएको छ । टोलीका लागि विदेशी खेलाडीको समावेशले आक्रमण क्षमता बलियो बनाएको छ । विशेष गरी स्ट्राइकर समीर तामाङको प्रदर्शन प्रशंसनीय रहेको छ । प्रशिक्षक सुमन श्रेष्ठले आफूहरू आत्मविश्वासका साथ मैदानमा उत्रने बताउनुहुन्छ । उहाँले मच्छिन्द्रलाई हराउने योजना स्पष्ट रहेको पनि सुनाउनुभयो । 


Author

नारायण तुम्बापो