• १४ पुस २०८१, आइतबार

तानसेनमा साप्ताहिक बजार सञ्चालन

blog

साप्ताहिक बजार उद्घाटन कार्यक्रममा सहभागीहरू । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, पुस १३ गते । तानसेनका महिला उद्यमीले साप्ताहिक बजार सञ्चालन गरेका छन् । स्थानीय अर्थतन्त्र बलियो बनाइ उत्पादनमा महिलालाई जोड्नका लागि तानसेन–४ मख्खनटोलमा साप्ताहिक बजार सुरु गरिएको हो । साप्ताहिक बजार हप्ताको एक दिन सञ्चालन हुनेछ । 

महिलाको नेतृत्वमा उत्पादन भएका बस्तुको बजार खोज्न, आपसी सहकार्यलाई स्थापित गर्न र स्थानीय उत्पादनलाई प्रोत्सहन गर्न महिलाहरूले साप्ताहिक बजार सुरु गरेका हुन् । साप्ताहिक बजारमा महिलाको नेतृत्वमा उत्पादित खाद्य बस्तु, सजावटका बस्तु, पोशाक, ढाकाका कपडा, हस्तकला जस्ता सामग्री राखिएका छन् । 

साप्ताहिक बजारको उद्घाटन गर्नुहुँदै तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले महिलाको नेतृत्वमा भएको बजारले नयाँ उत्साह थपेको बताउनुभयो। साप्ताहिक बजारले महिलालाई उत्पादनमा लाग्न प्रेरित गर्ने र उनीहरूलाई आर्थिक र सामाजिक रूपमा सबल बनाउन सहयोग गर्ने उहाँले उल्लेख गर्नुभयो । 

साप्ताहिक बजारमा स्थानीय नगरवासीका विभिन्न कला संस्कृतिको प्रस्तुतीसमेत गरिएको छ । यस्तै महिलाले उत्पादन गरेका बस्तुको बिक्री, खाद्य सामग्रीको बिक्री तथा प्रदर्शनी भएको तानसेन–४, का वडाअध्यक्ष हेमन्तराज शाक्यले बताउनुभयो । साप्ताहिक बजारले तानसेनलाई व्यापारिक र सांस्कृतिक रूपमा नयाँ उचाइमा पुर्‍याउने विस्वास गर्नुभयो ।