• १३ पुस २०८१, शनिबार

पर्यटक भित्र्याउन एउटै प्रकृतिका संरचना निर्माण नगर्न छत्रकोटको आग्रह

blog

छत्रकोटमा निर्माण भएको जिपलाइनको सामुहिक उद्घाटन गर्दै अतिथिहरू । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस १२ गते । छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले एउटै प्रकृतिका संरचना निर्माण नगर्न जिल्लाका अन्य स्थानीय तहलाई आग्रह गर्नुभएको छ । शुक्रबार गाउँपालिकाले निर्माण गरेको जिपलाइनको उद्घाटनका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

जिल्लाका १२ वटै स्थानीय तहहरूले स्थानीय धार्मिक र पर्यटकीय रूपमा रहेका सम्पदाहरुको उचित प्रचारप्रसार गर्न र पर्यटकहरू ल्याउनका लागि फरकफरक प्रकारका संरचनाहरू निर्माण गर्न सकेमा गुल्मीका सबै स्थानीय तहको थप प्रचार हुने उहाँको तर्क छ । 

रेसुङ्गा नगरपालिकाले गर्जुरामा जिपलाइन निर्माण गर्न लागेको तर्फ इंकित गर्दै पाण्डेले एउटै प्रकृतिका संरचना निर्माण गर्नुभन्दा फरक प्रकृतिका संरचनाहरू निर्माण गरेमा जिल्लाकै थप प्रचार प्रसार दीर्घकालिन रूपमा रही रहने उहाँको भनाइ छ । रेसुङ्गा नगरपालिकाले पनि गर्जुराको पानी ट्याङकीबाट सुरु भई पार्कभित्र ल्यान्डिङ हुने गरी चार सय मिटरको दुरीमा जिपलाइन निर्माण गर्न लागेको जनाएको छ ।  

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नव प्रवर्तन साझेदारी कार्यक्रमको ७५ प्रतिशत र नगरको २५ प्रतिशत गरी करिब डेढ करोडको लगानीमा जिपलाइन बन्ने सूचना प्रविधि अधिकृत सुरेश खनालले जानकारी दिनुभयो । छत्रकोटमा निर्माण भएको जिपलाइन जिल्लाका १२ वटै स्थानीय तहको सम्पती भएको उहाँले बताउनुभयो । त्यसैले उद्घाटन कार्यक्रममा पनि जिल्लाका दुई नगरसहित नौ गाउँपालिकालाई साझा सम्पतीको रूपमा लिनका लागि निमन्त्रण गरिएको गाउँपालिकाले जनाएको छ । यसका साथै छिमेकी जिल्ला अर्घाखाँची र पाल्पाका छत्रकोट गाउँपालिकासँग जोडिएका पालिकालाई पनि निमन्त्रण गरिएको थियो ।

छत्रकोट गाउँपालिकाको वडा नम्बर तीन देवालय मन्दिर परिसरबाट देवी भगवती मन्दिरसम्म एक हजार असी मिटरको लम्वाइमा जिपलाइन सञ्चालनमा ल्याएको हो । जिपलाइन सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने गाउँपालिकाले विश्वास लिएको छ। 

लुम्बिनी प्रदेश र गाउँपालिकाको  ८६ लाख ७३ हजार १४४ रुपियाँको संयुक्त लगानीमा सानु सेतीदेवी कन्ट्रक्सन प्रालि काठमाडौँले निर्माणको कार्य सम्पन्न गरी जिपलाइन सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरीले जानकारी दिनुभयो । जिपलाइनले आन्तरिक पर्यटकमा वृद्धि हुने र यस क्षेत्रको थप प्रचारमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको छ । जिपलाइनबाट हिमाल, पहाड र तराइ देख्न सकिने भएकाले आन्तरिक पर्यटकहरू आउनेमा आफू ढुक्क रहेको पुरीको दाबी छ । यस क्षेत्रमा पिक्नीक स्थल र धार्मिक स्थल पनि भएकाले यहाँ आएका धेरै जसो व्यक्तिहरू जिपलाइन प्रयोग गर्ने पालिकाले दाबी गरेको छ ।

जिपलाइनको शुल्क पनि अन्यत्र भन्दा सस्तो रहेकाले अन्य स्थानको तुलनामा बढी चल्ने पाण्डेको दाबी छ । जिपलाइन चढ्ने विद्याथीका लागि  तीन सय, छत्रकोट गाउँपालिका भित्रका नागरिकका लागि चार सय, पालिकाभन्दा बाहिरका नागरिकका लागि पाँच सय र विदेशी नागरिकका लागि एक हजार पाँच सय शुल्क निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो ।

जिपलाइन सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा दिने गरी पालिकाले तयारी गरेको बताउँदा निजी क्षेत्र नआउन्जेल पालिकाले नै व्यवस्थापन गरेर चलाउने उहाँले बताउनुभयो ।

जिपलाइन चढ्नेका लागि १० लाख रुपियाँको दुर्घटना बिमा गरिएको पुरीले बताउनुभयो । सुरुको स्टेसनदेखी ल्यान्डिङ हुने स्थानसम्मको समय ५५ देखि ७७ सेकेन्डसम्म लाग्ने छ । नगरकोट जिपलाइन प्रालिका र्दुइ जना दक्ष प्राविधिकद्वारा स्थानीय तीन जना र नगर प्रहरी दुई जना गरी पाँच जनालाई १२ दिनको तालिम प्रदान गरी जिपलाइन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।