• १२ पुस २०८१, शुक्रबार

चेम्बर एक्स्पो माघ १७ देखि

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस १२ गते । नेपाल चेम्बर अफ कमर्सले आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गर्ने भएको छ । आगामी माघ १७ देखि २१ गतेसम्म काठमाडौँमा चेम्बर एक्स्पो हुन लागेको चेम्बरले जनाएको छ । 

स्थानीय उत्पादनको प्रवर्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले ‘चेम्बर एक्स्पो २०२५’ को आयोजना गरेको जनाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो । व्यापार अभिवृद्धि, स्थानीय वस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ । 

एक्स्पोमा नेपाल, बङ्गलादेश, भारत, चीन, थाइल्यान्ड, युएई, दक्षिण कोरिया, मलेसिया र पाकिस्तानलगायतका देशमा उत्पादित वस्तुको प्रदर्शनी र व्यवसायीले सहभागिता जनाउने चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । एक्स्पोमा हस्तकलाका वस्तु, सवारी साधन, घरजग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्यपुस्तक, ज्वेलरी, कस्मेटिक वस्तु, निर्माण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्री प्रदर्शनमा रहने छन् । स्वदेशी र विदेशी गरी दुई सयभन्दा बढी स्टल राख्ने तयारी छ ।