• १२ पुस २०८१, शुक्रबार

सौराहामा हात्ती महोत्सव

blog

नारायणगढ समाचारदाता

नारायणगढ, पुस १२ गते । चितवन हात्ती महोत्सव सौराहामा सुरु भएको छ । हात्तीका गतिविधिमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । हात्ती महोत्सवको १८ औँ शृङ्खलाको उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्दै मेला महोत्सवले देशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“आर्थिक गतिविधिलाई सहयोग गर्न गरिने यस्ता मेला महोत्सव नहोस् भन्ने तत्वबाट बच्नु पर्छ । यिनीहरूले गलत सन्देश दिन्छन् । मेला महोत्सवको प्रोत्साहित गर्ने काम सरकारले गर्नु पर्छ । नेपालको आर्थिक विकासमा पर्यटन टेवा दिने भएकाले यस्ता महोत्सवलाई बढ्वा दिनु पर्छ,” उहाँले भन्नुभयो । 

पर्यटकीय गतिविधि जनताका हितमा केन्द्रित हुनुपर्ने धारणा चर्चा गर्दै उहाँले भन्नुभयो, “यस्ता महोत्सवले पर्यटनको विकासमा टेवा पुग्छ नै । यसरी गरिने महोत्सव जनताको चाहना अनुसार आयोजना गर्नु पर्छ ।”

हाम्रा पूर्वजहरूले जङ्गल र जनावर बचाइराखेकै कारण यसले पर्यटनको विकासमा सहयोग गरेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । 

“परापूर्वकालदेखि नै जनावर र स्थानीय बासिन्दामा सम्बन्ध सुमधुर रहेकै कारण त जनावर र मानिससँगै रहने वातावरण बनेको छ । यसले पर्यटनलाई पनि सहयोग गरेको छ,” उहाँले भन्नुभयो । 

हात्तीका गतिविधिमार्फत पर्यटनको विकास गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । महोत्सव उद्घाटनका क्रममा सौराहामा हात्तीसहितको शोभा ¥यालीले सौराहा परिक्रमा गरेको थियो । यस्तै महोत्सवको पहिलो दिन हात्तीको फुटबलमा पेनाल्टी सो नमुनाका रूपमा देखाइएको थियो ।

महोत्सवका अवसरमा हात्ती सुन्दरी, हात्ती फुटबल पेनाल्टी, हात्ती वनभोजलगायतका कार्यक्रम राखिएका छन् । महोत्सव पुस १५ सम्म चल्ने छ ।

महोत्सव अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रम हुने भएको छ ।