• १२ पुस २०८१, शुक्रबार

बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव

blog

बर्दिया जिल्लाको सदरमुकाम गुलरियास्थित अस्पताल । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, पुस ११ गते । बर्दियाका विभिन्न स्वास्थ्य संस्थामा रेबिज विरुद्धको भ्याक्सिनको अभाव भएको छ । लुम्बिनी प्रदेश आपुर्ति व्यवस्थापन केन्द्रले खोप नपठाउँदा भ्याक्सिनको अभाव भएर बिरामीले सास्ती भोग्नु परेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । 

बर्दिया अस्पताल, बारबर्दिया नगर अस्पताल, बासगढी नगर अस्पताल र राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिज विरुद्धको भ्याक्सिन अभाव रहेको ती अस्पतालहरूले जनाएका छन् । बर्दिया अस्पताल, गुलरियामा कुकुरले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउन आउनेको सङ्ख्या बढ्दै गएपनि माग गरिएको भ्याक्सिन नआउँदा समस्या भएको अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले बताउनुभयो । उहाँले अस्पतालमा गत डेढ महिना अघिनै भ्याक्सिन सकिएको र त्यस यता नआएकोले अभाव रहेको जानकारी दिनुभयो । स्वास्थ्य संस्थालाई सो भ्याक्सिन खरिदको अधिकार नभएको जनाउँदै उहाँले तर गत सात आठ वर्षदेखि प्रायजसो अभावनै हुने गरेकोले यस तर्फ सम्बन्धित निकायले ध्यान दिन आग्रह पनि गर्नुभयो । 

बजारमा पाइने भ्याक्सिनको पाँच डोज लगाउनु पर्ने र सरकारले उपलब्ध गराएको भ्याक्सिनको तीन डोज मात्रै लगाउनु पर्ने पनि डा. पाण्डेले बताउनुभयो । यसैगरी बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले बारबर्दिया नगर अस्पतालमा पनि महिना दिनदेखि भ्याक्सिनको अभाव भएको बताउनुभयो । उहाँले एन्टी रेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा नै अभाव भएकोले अस्पतालमा पठाउन नसकिएको जानकारी आएको बताउनुभयोे । 

सोही प्रकारले बाँसगढी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख महेश थारूले रेबिजको भ्याक्सिन सकिएको एक महिना बढी भए पनि भ्याक्सिन नआउँदा कुकरले टोकेका धेरै बिरामी फर्कन बाध्य भएको बताउनुभयो । प्रदेशसँग भ्याक्सिन माग गरेको समेत उहाँले जानकारी दिनुभयो । 

यस्तै राजापुर प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी सुरेश चौलागाईले रेबिजको भ्याक्सिन कात्तिक महिनामै सकिएको जनाउँदै थप भ्याक्सिन नआउँदा समस्या भएको बताउनुभयो । ठाकुरबाबा नगपालिकामा पनि लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र पठाएको भ्याक्सिन दुई महिना अघि नै सकिएको स्वास्थ्य शाखा प्रमुख विष्णु ज्ञवालीले जानकारी दिनुभयो । तर, ठाकुरबाबामा भने भ्याक्सिनको अभाव हुन नदिन स्थानीय सरकारले २०० भाइल भ्याक्सिन खरिद गरेर काम चलाइरहेको उहाँको भनाइ छ ।