• ११ पुस २०८१, बिहिबार

चुम उपत्यकामा हिमपात

blog

गुणबहादुर रोका 

सुलीकोट, पुस ११ गते  । उत्तरी गोरखाको चुम उपत्यकामा हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा मङ्गलबारदेखि बुधबार बिहानसम्म हिमपात भइरहेको चुमनुब्री गाउँपालिका–२, स्यालाका पेम्बा रेता लामाले जानकारी दिनुभयो । 

उत्तरी गोरखाको सामागाउँ, साम्दो, वडा नम्बर २ को ल्हो स्यालालगायतका स्थानमा हिउँ परिरहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यधिक मात्रामा चिसो बढेकाले बाहिर निस्कने अवस्था छैन । मानिस घरभित्र बस्दै याक र चौँरीलाई पनि गोठभित्र राखेर सुकेको घाँस र पराल खुवाउनुपर्ने अवस्था छ ।” हिमपात सुरु भएसँगै किसान भने खुसी भएका छन् । सुक्खा भएको जमिनमा हिउँ परेपछि जमिन चिसो हुने र उब्जनी बढी हुने भएकाले पनि त्यहाँका किसान खुसी भएका हुन् । 

यता आमनागरिकको जीवन भने कष्टकर बनेको छ । हिमपातले गर्दा दैनिक उपभोग गर्ने खानेपानीका मुहानमा पानी जमेका कारण समस्या परेको छ । वृद्धवृद्धा र बालबच्चालाई चिसोका कारण समस्या भएको अध्यक्ष लामाको भनाइ छ । त्यहाँका गाईवस्तुलाई घाँसको अभाव हुँदा कसरी जोगाउने भन्ने समस्या छ । 

हिमपातका कारण मनासलु पदमार्ग जाने आन्तरिक तथा बाह्य पर्यटकले समस्या झेल्नु परेको छ । मनासलु क्षेत्रमा पुगेका पर्यटक होटेलभन्दा बाहिर जान नसकेको एमक्याप कार्यालय गोरखाले जनाएको छ । उत्तरी गोरखाको अन्तिम गाउँ साम्दो समुद्री सतहबाट तीन हजार पाँच सय मिटरमा भएकाले प्रायः त्यस ठाउँमा हिउँ परिरहने भए पनि अहिले भने लगातार दुई दिनसम्म हिउँ परिरहेको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो ।