भैरहवा समाचारदाता
भैरहवा, पुस ११ गते । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवस्था टिकाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले मङ्गलबार भैरहवामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले राजनीतिक परिवर्तनबाट आएका अधिकार सुरक्षित र संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको नेतृत्वमा मुलुकमा राजनीतिक परिवर्तन भएको दाबी गर्दै उहाँले मुलुकलाई आर्थिक क्रान्तिको मार्गमा अगाडि बढाउन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभयो ।
“मुलुकमा व्यवस्था परिवर्तन गर्न सक्ने पार्टी कांग्रेस हो,” उहाँले भन्नुभयो, “यो व्यवस्थालाई लयमा ल्याउन कांग्रेसले नै सक्छ । कांग्रेसकै नेतृत्वमा २०७२ मा संविधान सभाबाट संविधान जारी भयो ।” उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस र एमालेले आन्तरिक रूपमा काम गरिरहेको पनि बताउनुभयो ।
नेता सिंहले अबको दिनमा पार्टीलाई व्यवस्थित गर्न विधानमा केही अव्यावहारिक कुराहरू भए विधि र प्रक्रिया पूरा गरेर त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीको इतिहास, नेताहरूले गर्नुभएको सङ्घर्षका बारेमा र यो पार्टी अरू पार्टीभन्दा बेग्लै छ भनेर चिनाउनु प¥यो, सम्झाउन सक्नु प¥यो ।” उहाँले अहिलेको चुनौती सामना गर्न पार्टीलाई अलिकति व्यवस्थित गर्न सके जनताले देखेको सपना पूरा गर्न सक्ने क्षमता कांग्रेसमा रहेको दाबी पनि गर्नुभयो ।
कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले २०४६ सालपछि नेपालमा सुधार आएको र त्यो सुधारलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको आवश्यकताले कांग्रेस र एमाले मिलेर सरकार बनाएको दाबी गर्नुभयोे । उपप्रधानमन्त्री सिंहले रुपन्देहीमा सियारी पर्यटन कोरिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिँचाइ योजनाको उद्घाटन पनि गर्नुभयो ।