छविलाल पाण्डे
बुटवल, पुस १० गते । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुटवलको औद्योगिक व्यापार मेला अवलोकन गर्नुभएको छ । उपप्रधानमन्त्री सिंहले बुधबार दिउँसो मेलाको स्थलगत अवलोकन गर्नुहुँदै औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मेलाले उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले मेला महोत्सव उद्योगका लागि प्रेरणाको स्रोत बन्ने र स्थानीयसँगै देशकै अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्ने भनाइ राख्नुभयो ।
बुटवलमा निर्माण सम्पन्न भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल सरकारको विशेष संरचना व्यवस्थापन र सञ्चालन गठन आदेश मन्त्रीपरिषदबाट पारित भई सकेको बताउँदै सञ्चालन व्यवस्थापनका लागि खुला प्रतिस्पर्धामा अगाडि बढेको पनि जानकारी गराउनुभयो ।
त्यसै अवसरमा उपप्रधान तथा सहरी विकास मन्त्री सिंहले प्रदर्शनीस्थल सँगै बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको समेत अवलोकन गर्नुभएको थियो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागी छन् ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि विशष्ो महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एन्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिन रहेका छन् ।
त्यसैगरी दुवई फिस टनेलसहितको बालउद्यान रहेको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा बिक्री वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक साङ्गीतिक कार्यक्रम भइरहेको छ ।