चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको दुर्गम क्षेत्रका विद्यार्थीलाई ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड) नेपालले छात्रवृति प्रदान गरेको छ । रीड नेपालले विभिन्न सङ्कायअन्तर्गत उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई यसवर्षको छात्रवृत्ति प्रदान गरेको हो ।
रीड नेपालका प्रवन्धक राजेन्द्र पन्तका अनुसार विभिन्न सङ्कायमा अध्ययनरत सात जना विद्यार्थीलाई जर्ज बैन्ड मेमोरियल उच्च शिक्षा छात्रवृति प्रदान गरिएको हो । छात्रवृत्तिअन्तर्गत सात जना छात्रछात्राका लागि सात लाख ६८ हजार रुपियाँ रकम वितरण गरिएको प्रवन्धक पन्तले जानकारी दिनुभयो ।
छात्रवृत्ति पाउनेमा तीन वर्षे प्राविधिकतर्फ सिरिजङ्घा गाउँपालिका –८ याम्फुदिनकी सृष्टी राई र फक्ताङ्लुङ गाउँपालिका –५ हेल्लोकका अर्जुन लिम्बू रहनुभएको छ । यस्तै, दुई वर्षे विज्ञान सङ्कायतर्फ फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपकी निस्मा शेर्पा र सिरिजङ्घा गाउँपालिका –७ खेवाङकी पेटिसा दाहालले छात्रवृति प्राप्त गरेका छन् ।
दुई वर्षे शिक्षा मानविकी व्यवस्थापन सङ्कायतर्फ फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुकी बन्दना लिम्बू, इखाबुकै सोनी लिम्बू र सिरिजङ्घा गाउँपालिका –६ मामाङ्खेकी वृन्दा माबो लिम्बूले उच्च शिक्षा छात्रवृत्ति प्राप्त गर्न सफल भएका पन्तले जानकारी दिनुभयो ।
रीड नेपालका अनुसार विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८, ५८६ मिटर) को प्रथम आरोही बेलायतका नागरिक जर्ज बैन्डकाे नाममा स्थापित छात्रवृति विगत १२ वर्षदेखि वितरण गरिँदैआएको छ । उच्च शिक्षा छात्रवृतिबाट यहाँको दुर्गम क्षेत्रका हालसम्म ९४ जना विद्यार्थी लाभान्वित भइसकेका रीड नेपालले जनाएको छ ।
उक्त सङ्ख्यामा विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दा हालसम्म करिब ८२ लाख २४ हजार ५६ रुपियाँ रकम खर्च भइसकेको रिडले जनाएको छ । हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा रीड नेपालले भौगोलिक हिसाबले दुर्गम तथा विकट क्षेत्रमा १६ वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षाका लागि परियोजना कार्यान्वयन गर्दै आइरहेको छ ।
उच्च शिक्षा छात्रवृतिसँगै आर्थिक सहयोग गर्ने निकाय हिमालयन ट्रस्ट युके, शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङ, सिरिजङ्घा र फक्ताङ्लुङ गाउँपालिको समन्वयमा रीड नेपालले शिक्षक तालिम, शैक्षिक सामग्री सहयोग, विज्ञान प्रयोगशाला, पुस्तकालय व्यवस्थापन, खानेपानी, शौचालय तथा विद्यालय भवन निर्माणलगायतका क्रियाकलाप गर्दै आएको छ ।