• १० पुस २०८१, बुधबार

विपन्न विद्यार्थीका लागि अक्षयकोष स्थापना

blog

शारदा मावि बाह्रबिसेमा अक्षयकोष स्थापना । तस्बिर : चित्र मिजार

चित्र मिजार
सिन्धुपाल्चोक, पुस १० गते ।
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूहले आफू अध्ययन गरेको विद्यालयको शैक्षिक उन्नयनका लागि अक्षयकोष स्थापना गरेका छन् ।

उक्त विद्यालयका २०५५ सालको एसएलसी ब्याचले सो विद्यालयमा अध्ययनरत जेहेन्दार, आर्थिक विपन्नता भएका विद्यार्थीको शैक्षिक प्रभावकारिताका लागि ५० हजारको अक्षयकोष स्थापना गरेको सो ब्याचका अध्यक्ष अम्बरबहादुर श्रेष्ठ(उमेश)ले जानकारी दिनुभएको छ । आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीले बिचमै पढाइ छाड्न नपरोस् भन्ने ध्येयले अक्षयकोष स्थापना गरिएको उहाँले थप्नुभयो ।

उक्त विद्यार्थी समूहले शारदा माविमा आधारभूत तहमा अध्ययनरत दुई जना, मावि तहमा अध्यनरत ६ जना छात्रछात्रालाई नगद र शैक्षिक सामग्रीसमेत प्रदान गरेको थियो । २०५५ सालका एसएलसी समूहले आफू पढेको विद्यालयको शैक्षिक प्रभावकारिताका लागि गरेका सहयोगले हौसला मिलेको प्रधानाध्यापक नीलप्रसाद सुवेदीले बताउनुभएको छ । विद्यालयको ४७ औं वार्षिकोत्सवमा सो विद्यालयलाई सहयोग गरिएको हो । उक्त समूहले विभिन्न विद्यालय र समुदायमा पुगेर शैक्षिक, स्वास्थ्यलगायतका सामाजिक काम गर्दै आइरहेको छ ।