कोकिला भण्डारी
धनकुटा, पुस ९ गते । भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजकले धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिभल हुने जानकारी गराएको हो ।
उक्त फेस्टिभलमा विभिन्न पर्यटकीय स्थलहरूको प्याकेज अनुसार अवलोकन गराइने छ । होटल एशोसिएसन भेडेटारको आयोजना हुन लागेको फेस्टिभलको सह–आयोजक प्राकृतिक वातावरण स्रोत तथा पर्यटन भेडेटार र भेडेटार आमा समूह छन् । उक्त फेस्टिभल आगामी पुस १६ गतेदेखि सुरु भएर १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सवको उद्घाटन गर्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आउने होटल एशोसियसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले बताउनुभयो । उहाँका अनुसार हरेक वर्ष झै यस अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पनि फेस्टिभल सञ्चालन गरि भेडेटारसहित आसपास क्षेत्रको पर्यटन प्रवद्र्धन गरिनेछ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले फेस्टिभलले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार भेडेटार पुर्वको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित भइसकेको छ । यसलाई थप प्रवद्र्धन गर्न गाउँपालिकाले सक्दो सहयोग गर्नेछ ।
आगामी पुष १६ गतेदेखि सुरु हुने फेस्टिभलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूल, कृषि तथा घरेलु सामाग्री बेचबिखनका साथै प्रदर्शनीमा राखिने आयोजकको भनाइ छ । फेस्टिभलमा करिब ५० हजार आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिनुका साथै करिब २ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
फेस्टिभलमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई साँगुरीगढी, पाथीभरा माताको मन्दिर, शंखेश्वरी महादेशको मन्दिर, नाम्जे, नमस्ते झरना, सैलुङडाँडा, थुम्की, बौद्धविहार, गुम्बा, अजङ्गको रूख र ध्वजे डाँडो लगायतका पर्यटकीय स्थलहरू घुमाउने आयोजकले जनाएको छ ।
अमेरिकाको सञ्चार माध्यम सीएनएनले सन् २०१२ मा विश्वको १२ अनौठा गन्तव्य स्थलमध्ये आठौँ नम्बरमा रहेको प्राकृतिक रूपमा आकर्षक तथा मनमोहक नाम्जे र आत्मा बस्ने घरको समेत फेस्टिभलमा अवलोकन गर्न पाइने छ । आर्थिक तथा सामाजिक उत्थानका लागि पर्यटन, होटल व्यवसाय, होमस्टे, अन्य ब्यापार व्यवसाय, कृषि, संस्कृति, धार्मिक र शिक्षा क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले फुट फेस्टिभलको आयोजना गरिएको हो ।
महोत्सव साँगुरीगढी गाउँपालिका, धरान उपमहानगरपालिका, धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, पाख्रीबास नगरपालिका, चौबिसे गाउँपालिका र सहिदभूमि गाउँपालिका लगायतको सहयोगमा सञ्चालन गर्न लागिएको हो ।