शेरबहादुर सार्की
बाजुरा, पुस ९ गते । बाजुरामा पुनः हिमपात सुरु भएपछि यहाँको जनजीवन प्रभावित भएको छ । हिमाली क्षेत्रका उच्च ठाउँमा बिहानदेखि हिमपात भएपछि चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित भएको हो ।
बिहान सात बजेदेखि पुन यहाँ हिउँ पर्न सुरु भएपछि चिसो पनि निकै बढ्न थालेको बुढीनन्दा नगरपालिका स्थानीय टेकबहादुर थापाले बताउनुभयो । उहाँले भन्न्नभुयो, “बडिमालिका, बुढीनन्दा, जगनाथ, हिमाली, स्वामिकार्तिक लगायतका उच्च स्थानमा हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ ।”
बिहान सात बजेदेखि यहाँ पुन बाक्लो हिमपात भएपछि अहिले यहाँका बालबालिका तथा वयोवृद्धहरुलाई घर बाहिर आउजाउ गर्न निकै कठिन भएको थापाले बताउनुभयो । हिउँदको महिना यहाँ त्यसै पनि निकै चिसो हुन्छ । यतिबेला फेरि यहाँ दुइ पटक हिउँ परेपछि अहिले यहाँको जनजीवन निकै प्रभावित हुन थालेको छ ।
मङ्सिर, पुस र माघको महिनादेखि नै यहाँका अधिकाशं ठाउँमा धेरै चिसो हुने गर्दछ । मङ्सिरको २३ गते देखि हिउँ पर्न सुरु भएपछि त्यो हिउँको चिसोले यहाँका बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई निकै समस्या गरेको छ ।
पटकपटक यहाँ हिमपात हुन थालेपछि अहिले यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई वनमा चरिचरन गराउँन समेत समस्या भएको छ । हिउँले यहाँको जमिन पूरै सेताम्य भएपछि यहाँका स्थानीयलाई भेडाबाख्रालाई बाहिर ल्याएर चरिचरन गर्न समस्या हुने गरेको हो । बाजुरामा प्राय अधिकांश हिउँदे खेतीमा सिचाइको अभाव हुने गरेको छ । सिँचाइ अभावका कारण हिउँदे बाली गहुँ जौ सुक्ने गर्दछ ।
समयमै हिमपात परेपछि यहाँका कृषक भने निकै खुसी भएका छन् । सिँचाइ अभावका कारण सुक्न लागेको ती गहुँ जौ बालीमा बाक्लो हिमपात भएपछि खेती राम्रो हुने आशले यहाँका किसान निकै हर्षित भएका हुन् । बाजुरामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर जमिन खेतीयोग्य छ भने यसमा पाँच हजार २३५ हेक्टर जमिनमा मात्र वर्षभरिमा सिँचाइ हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख दसिराम साहनीले बताउनुभयो ।