• १० पुस २०८१, बुधबार

दक्षिण एसियाकै पहिलो सुरुङमार्ग जीर्णोद्धार

विकासको मोडल परिवर्तन गर्न आवश्यक : मुख्यमन्त्री लामा

blog

मकवानपुर समाचारदाता

हेटौँडा, पुस ९ गते  ।  हेटौँडा उपमहानगरपालिका–१५ स्थित ऐतिहासिक महìवको सुरुङमार्ग बागमती प्रदेश सरकारले जीर्णोद्धारपछि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत जीर्णोद्धार गरिएको चुरियामाई सुरुङमार्ग सोमबार चुरियामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा निर्देशनालयले उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

हेटौँडा हुँदै तराई जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको १०७ वर्ष पुरानो सुरुङमार्गको जीर्णोद्धारसँगै अब हेटौँडा उपमहानगरपालिकाले सुरक्षा र संरक्षणको जिम्मा पाएको छ । पुनर्निर्मित सुरुङमार्गको जिम्मा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेसँगै सोमबारबाटै सर्वसाधारणका लागि खुला गरिएको हो । सो अवसरमा निर्देशनालय र उपमहानगरपालिकाबिच पुनर्निर्मित चुरियामाई सुरुङमार्गको हस्तान्तरणसँगै सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी साँचो हस्तान्तरण गरिएको थियो । 

चुरियामाई सुरुङमार्ग सञ्चालन र व्यवस्थापनका लागि उपमहानगरपालिकालाई हस्तान्तरणपछि कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अहिलेको हाम्रो विकासको मोडलमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले जुन मोडलमा विकास निर्माणका काम गरिरहेका छौँ, त्यो वैज्ञानिक र दीर्घकालीन महìवका दृष्टिले पनि उपयुक्त नभएको भन्दै मास्टर प्लान बनाएर मात्र काम गर्नुपर्नेमा पहिले निर्माण सुरु गरेर मास्टर प्लान बनाउनेतर्फ लागेको बताउनुभयो । 

“पहिले मास्टर प्लान बनाएर सम्पदा जोगाउने र प्रवर्धन गर्नुपर्ने हो, विधि बनाएर काम गर्नुपर्ने र एकै पटक गोल गर्ने हो,” मुख्यमन्त्री लामाले भन्नुभयो, “विधि र विस्तृत परियोजनाबिना नै काम गर्दा कहिलेकाहीँ गोल नहुन पनि सक्छ, चुक्न सकिन्छ । अड्कने हुन्छ, अब विकाससम्बन्धी हाम्रो पुरातन धारणामा परिवर्तन आवश्यक छ ।”

चुरियामाई सुरुङमार्ग ऐतिहासिक महìवको भएकाले यसको संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै उहाँले सुरुङमार्गको संरक्षणसँगै यहाँ आउने पर्यटकले समय खर्चने स्थान पनि बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुङमार्गको ऐतिहासिक पक्षलाई उजागर गर्नु आवश्यक छ ।” प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले सुरुङमार्ग भएर आवतजावत गरेको स्मरण गर्दै ऐतिहासिक सम्पदाको संरक्षणले विकासमा सहयोग पुग्ने धारणा राख्नुभयो ।

प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले प्रदेश सरकारले  ऐतिहासिक सम्पदाको जीर्णोद्धार र संरक्षण गरी पर्यटन प्रवर्धनमा सहयोग पु-याउन काम गरिरहेको बताउनुभयो । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले हस्तान्तरणसँगै अब संरक्षणको जिम्मा आएको बताउँदै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने बताउनुभयो । कार्यक्रममा प्रदेशका पूर्वमन्त्री रामेश्वर फुयाँल, जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ, यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेललगायतले सुरुङमार्गको संरक्षणसँगै यसलाई पर्यटकीय गन्तव्य बनाउने चुनौती थपिएको स्पष्ट गर्नुभयो । चुरे पर्वत छेडेर एक शताब्दीभन्दा अगाडि निर्माण गरिएको दक्षिण एसियाकै पहिलो उक्त सुरुङमार्ग नियमित मर्मतसम्भारको अभावमा बिचभागमा पुरिएर वारपार गर्न नसक्ने अवस्थामा रहेको थियो । बागमती प्रदेश सरकारको यातायात पूर्वाधार निर्देशनालय, हेटौँडामार्फत ऐतिहासिक महìवको चुरियामाई सुरुङमार्गको पुनर्निर्माणसँगै पर्यटकीय गन्तव्य बनाउने गरी जीर्णोद्धार गरिएको हो । 

मर्मतसम्भारको अभावमा पुरिएर अवरुद्ध बनेको सुरुङमार्ग बागमती प्रदेश सरकारले मूल्य अभिवृद्धि करसहित तीन करोड ६५ लाख ८२ हजार ४१५ रुपियाँको लागतमा जीर्णोद्धार गरेको हो । सो सुरुङमार्गको सुरुमा पाँच सय मिटर निर्माण गरिएकोमा हाल २२५ मिटर मात्र बाँकी रहेको छ । उचाइ तीन मिटर र चौडाइ २.५ मिटर रहेको सुरुङमार्ग अमलेखगन्ज र काठमाडौँ जोड्ने सडकको सेतुका रूपमा रहेको थियो । 

चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी सडक विस्तारका क्रममा कालोपत्रे सडक निर्माणसँगै उक्त सुरुङमार्ग प्रयोगविहीन बनेको थियो । मकवानपुर र बारा जिल्लाको 

सिमानामा रहेको चुरियामाई सुरुङमार्ग भएर विगतमा जिप, लरीलगायतका साना सवारी आवतजावत हुने गरेका थिए । नेपालको पहिलो सुरुङमार्गको परिकल्पनाकार ब्रिगेडियर कर्णेल डिल्लीजङ्ग थापाको अगुवाइमा विसं १९७४ सालमा निर्माण गरिएको चुरियामाई सुरुङमार्ग निर्माण सम्पन्न गर्न दुई वर्ष लागेको थियो ।