• ८ पुस २०८१, सोमबार

मोरङको बहुउद्देश्यीय कभर्ड हल अलपत्र

blog

मोरङको उर्लाबारी–६ स्थित बहुउद्देश्यीय कभर्ड हल ।

हरिप्रसाद कोइराला 

उर्लाबारी, पुस ८ गते । स्रोत सुनिश्चित नभई निर्माण सुरु भएको मोरङको उर्लाबारी–६ स्थित बहुउद्देश्यीय कभर्ड हल बजेट अभावमा अलपत्र भएको छ । 

२०७६ सालमा तीन करोड १२ लाख रुपियाँको डिपीआर तयार गरेर  उर्लाबारी नगरपालिकाले निर्माण कार्य थालेको कवर्ड हल नगर र प्रदेशले सुनिश्चित गरे रकम नआएपछि  अलपत्र भएको हो । 

नगर र प्रदेश सरकारले आर्थिक वर्ष ०८०/०८१ म ३०/३० लाख रुपियाँ छुट्याउने प्रतिबद्धता थियो । हालसम्म कभर्ड हल निर्माणका लागि पछिल्ला चार वर्षमा ९७ लाख रुपियाँ खर्च भइसकेको छ । 

२०७६ सालमा १५ लाख, २०७७ सालमा २५ लाख रुपियाँ खर्च भएको कभर्ड हलमा २०७८ सालमा ३५ लाख रुपियाँ खर्च भयो । ०७९ सालमा प्रदेश सरकारले १९ लाख र सङ्घीय सरकारको तराई मधेश समृद्धि कार्यक्रमको २५ लाखमा ३० प्रतिशत नगरपालिकाले थप गरी झण्डै ५० लाख रुपियाँको काम भयो । तर, आर्थिक वर्ष ०८०/०८१ पछि नगर र प्रदेशले बजेट छुट्याएनन् ।  

उर्लाबारी ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो, ‘‘बहुवर्षीय योजना हो । त्यसैले हरेक आर्थिक वर्षमा केही न केही बजेट सुनिश्चित गरेर काम सम्पन्न गर्ने लक्ष्य थियो । पछिल्लो दुई वर्षयता बजेट अभाव भयो, त्यसैले काम अघि बढ्न सकेको छैन् ।’’

दमक–४ का जीवन आचार्यले तीन कट्ठा पाँच धुर जग्गा निशुल्क उपलब्ध गराउनु भएपछि नगरपालिकाले बहुउदेश्यीय कबर्ड हल निर्माण थालेको थियो । विभिन्न प्रकारका इनडोर प्रतियोगिता आयोजना गर्न सकिने गरी निर्माण सुरु भएको कभर्ड हल अन्तर्राष्ट्रिय मान्यताको छ । 

३२ मिटर लम्बाइ, १९ दशमलव २५ मिटर चौडाइ र ११ मिटर उचाइको कभर्ड निर्माण गर्न अझै डेढ करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ । उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेलले भन्नुभयो, ‘‘महालेखाले समेत योजना पूरा गर्न भनेको थियो । तर,बजेट कतैबाट पनि छुट्टिएन ।’’