• ७ पुस २०८१, आइतबार

हेटौडामा सवारी दुर्घटनामा पाँच जना घाइते

blog

राममणि दाहाल

हेटौँडा, पुस ७ गते । कान्ति लोकपथको हेटौँडा उपमहानगरपालिका ५ स्थित स्थित सडक खण्डमा सवारी दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । 

हेटौँडा ५ माछाप्लानस्थित कान्तिलोकपथ सडक खण्डमा चौघडातर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्र.३–०२–०० ८ प २६२८ नं. को मोटरसाइकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ५१६९ नं. को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना भएकोमा सोही समयमा चौघडा तर्फबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना ७ ख ४२९५ नं. को ट्रकको बम्परको भाग मुनी प्र.३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाइकल पर्न गई गए राति दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कुटर चालक हेटौँडा १७ हटियाका वर्ष ३४ का रोहित तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निजको टाउको र दाहिने खुट्टामा चोट लागि अवस्था गम्भीर र उपचारको लागि सिएमसी नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

यस्तै प्रहरीका अनुसार स्कुटर पछाडि बसेर तामाङको श्रीमती वर्ष २८ की रमिला तामाङ, स्कुटर पछाडि निजको छोरा वर्ष आठको रोजन तामाङ, मोटरसाइकल चालक हेटौँडा ३ बसामाडीका वर्ष ३५ का गोपी तामाङ, मोटरसाइकल पछाडि सवार हेटौँडा १९ नेवारपानी बस्ने वर्ष ३० का विष्णु प्रजा घाइते हुनुभएको छ ।

घाइतेहरूको हेटाैँडा अस्पतालमा उपचार भइ रहेको छ । 

मोटरसाइकल, स्कुटर, ट्रक र ट्रक चालक हेटौँडा १३ पदमपोखरीका वर्ष २९÷३० का सुकराम घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।