• ७ पुस २०८१, आइतबार

कृषिमन्त्रीसँग किसानको गुनासो, दुधको मूल्य र बजारको समस्या

blog

राजपुर गाउँपालिका–३, खरदरियामा किसानसँग समस्या बुझ्नुहुँदै मन्त्री दिनेश पन्थी । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, पुस ७ गते । देउखुरीको राजपुर गाउँपालिका–३, खरदरियाका रामधीरज यादवसँग ३५ वटा माउ भैँसी छन् । पुख्र्याैली पेसाका रूपमा भैँसीपालन गर्दै आउनुभएका रामधीरजका १४ वटा भैँसीले दुध दिन्छन् तर गाउँमा दुध बिक्रीका लागि डेरी वा सङ्कलन केन्द्र नहुँदा प्रत्येक दिन करिब ३५ किलोमिटर टाढा रहेको घोराही बजारसम्म आउनुपर्ने बाध्यता छ । 

छोरा प्रत्येक दिन घोराहीसम्म दुध बिक्रीका लागि जाने र आफूले घरमा भैँसीलाई चराउनेदेखि घाँस पराल खुवाउने काम गर्ने गरेको उहाँ बताउनुहुन्छ । 

दुध उत्पादक किसानका समस्या बुझ्न राजपुर–३, खरदरिया पुग्नुभएका लुम्बिनीका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीसँग आफ्ना समस्या राख्दै ७० वर्षीय रामधीरजले भन्नुभयो, “गाउँमै दुध बिक्री गर्ने व्यवस्थासँगै १२ महिना पानीको व्यवस्था भइदिए किसानलाई सहज हुने थियो । पानी नहुँदा गर्मीमा भैँसीलाई खुवाउनेदेखि घाँस खेती गर्न समस्या छ ।”गाउँमा दुध खरिद गर्न आउने व्यवसायीले अत्यन्त कम मूल्य दिँदा किसान आफैँ दुध बिक्रीका लागि लमही, घोराही, भालुबाङ बजारसम्म जानुपर्ने बाध्यता रहेको खरदरियाका सीताराम यादव बताउनुहुन्छ । बजारमा सय रुपियाँ लिटर बिक्री हुने दुध गाउँमा खरिद गर्ने व्यवसायीले प्रतिलिटर ५०/६० रुपियाँ मात्र दिन्छन् । आफ्नो लगानी नै नउठ्ने समस्या रहेको भन्दै किसान सीतारामले भन्नुभयो, “गाउँमा व्यवसायीलाई दुध दिँदा भैँसीपालनमा गरेको लगानी नै नउठ्ने अवस्था छ ।”परम्परागत भैँसीपालनलाई आधुनिकीकरण गर्न किसान उत्सुक रहे पनि आर्थिक अभावका कारण नसकिएको उहाँको भनाइ छ । 

खरदरियाका सीताराम र रामधीरज जस्तै बेला, मटेरिया, प्रतापपुरलगायतका गाउँका किसानले दुधको उचित मूल्यसँगै बजारीकरणमा सरकारले सहयोग गरिदिनुपर्ने, भैँसीपालनलाई आधुनिकीकरण गर्नका लागि गोठ निर्माणदेखि किसानलाई तालिम, नस्ल सुधारमा सहयोग गर्नुपर्ने माग छ । 

‘बजारीकरणमा सहजीकरण गर्छौँ’

अनुगनका क्रममा कृषि अनुदानदेखि दुधको बजारीकरणमा प्रदेश सरकारले किसानलाई सहयोग गर्ने लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताउनुभयो । 

भैँसीपालन व्यवसायलाई आधुनिकीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्न सकिने भन्दै मन्त्री पन्थीले वास्तविक किसानलाई कृषि अनुदान उपलब्ध गराउनेदेखि किसानले उत्पादन गरेको दुध खेर जान नदिनका लागि दुधको बजारीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । 

देउखुरी क्षेत्रमा राजपुर, गढवालगायत लुम्बिनी प्रदेशकै दक्षिणी क्षेत्र भैँसीपालनका लागि उपयुक्त मानिन्छ । मन्त्री पन्थीले भैँसीपालन पेसालाई व्यवस्थित गर्दै नयाँ पुस्तालाई आकर्षण गर्न सके रोजगारी सिर्जनासँगै राम्रो आम्दानी लिन सकिने बताउनुभयो । दुधका विभिन्न परिकार उत्पादन गरेर बिक्रि गर्नेदेखि मासुका लागि समेत भैँसी पाल्न सकिने भन्दै उहाँले भन्नुभयो, “परम्परागत भैँसीपालनले किसानको अवस्थामा सुधार आउँदैन ।’