गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ७ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेल क्षेत्रको विकास महत्वपूर्ण हुने बताउनुभएको छ । गोरखा ताकुकोट सेवा समाज, काठमाडौँको नवौँ वार्षिक साधारण सभालाई शनिबार सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष प्रचण्डले नेपाली युवामा क्रिकेटको क्रेज बढ्दै जानु देशका लागि महत्वपूर्ण पक्ष भएको बताउनुभयो । आज सकिएको नेपाल प्रिमियर लिग (एनपिएल) को सन्दर्भमा चर्चा गर्दै उहाँले भन्नुभयो, “अहिले क्रिकेटमा देशभरिका युवामा निकै ठुलो क्रेज छ । मैले आफ्नोतर्फबाट प्रधानमन्त्री हुँदा होस् वा विपक्षी दलको नेताको रूपमा क्रिकेटको विकासका लागि धेरै मेहनत गरेको छु । क्रिकेटको विकास गरेर त्यसमार्फत राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउन र आर्थिक रूपमा देशलाई गतिशील बनाउन खेल क्षेत्रको विकासमा ध्यान दिनै पर्छ ।”
आफूलाई गोरखाका जनताले मत दिएर जिताएपछि नै तेस्रो कार्यकार्यलका लागि प्रधानमन्त्री बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गचित्र कोर्ने अवसर पाएको बताउनुभयो । आफूले प्रधानमन्त्रीका रूपमा गोरखाको विकासका लागि बजेट विनियोजनदेखि योजनाको प्राथमिकीकरणमा सक्दो प्रयास गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीका रूपमा व्यस्त हुँदा आफ्नो निर्वाचन क्षेत्रमा धेरै जान नपाए पनि अब अलि बढी नै जोडिने बताउनुभयो ।