काठमाडौँ, पुस ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक अस्थिरतालाई समाप्त पार्न नेपाली कांग्रेससँग सहकार्य गर्नु परेको बताउनुभएको छ । नेपाल बुद्धिजीवी परिषद्को आज यहाँ आयोजित छैटौं केन्द्रीय बैठकमा उहाँले राजनीतिक स्थायित्वका निम्ति कांग्रेससँग गठबन्धन गर्नुपरेको बताउनुभयो ।
“अब देशमा अस्थिरतालाई समाप्त पार्ने, राजनीतिक स्थायित्व कायम गर्ने तथा आवश्यकताअनुसार संविधान संशोधन गर्दै संरचनागत सुधारका लागि दुई ठूला पार्टी मिलेका हुन् । प्रमुख पार्टीले मिल्नु परेको हो” उहाँले भन्नुभयो । प्रमुख दुई पार्टी मिलेर बनेको वर्तमान सरकारलाई असफल हुने छुट छैन भन्दै महासचिव पोखरेलले सरकारलाई सफल बनाउन पार्टीका वरिष्ठ नेताहरुले सक्रियतापूर्वक आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई अझ सुदृढ एवं सङ्गठित बनाउन नेता तथा कार्यकर्ताको सहयोग आवश्यक भएको विचार व्यक्त गर्नुभयो ।
परिषद्का अध्यक्ष प्राडा. दिनेशचन्द्र देवकोटाले अराजक गतिविधि रोक्न नेकपा (एमाले) मात्र नभई सबै राजनीतिक दल र नागरिक समाज पनि लाग्नुपर्छ भन्नुभयो । रासस