कबिराज घिमिरे
हिले, पुस ६ गते । किराँत राईहरुको महान पर्व उधौली धुमधामसँग मनाइएको छ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्दै साकेला मनाउँछन् ।
यस दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बुहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किरात जातिमा उभौँली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
साकेला उधौलीको अवसरमा धनकुटाको तल्लो टुँडिखेलमा शनिबार झाँकी प्रदर्शन तथा शुभकामना आदानप्रदान गरिएको हो । किराँत राई यायोख्खाको आयोजना भएको झाँकी प्रदर्शनमा साकेला सिल्ली नृत्य, सहिदभूमिका राईहरुको पापानी नाच र आठपहरिया राईको वढाङ्मी नाच प्रस्तुत गरिएको थियो । रीतिरिवाज एउटै भए पनि आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन रहेको बताइएको छ ।
धनकुटामा किराँत समुदायको उल्लेख्य बसोबास रहेकाले उधौली पर्व धुमधामका साथ मनाइदै आएको छ । अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मनाउने गर्दछ । पछिल्लो पुस्तामा झाँकी भनेको थाहा हुन छाडेकाले नयाँ पुस्तालाई झक्झकाउन कार्यक्रमको आयोजना गरिएको किराँत राई यायोख्खा धनकुटाको अध्यक्ष उद्धवमणि राईले जानकारी दिनुभयो ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले नेपाल सबै जातजाति र धर्म संस्कृतिको साझा थलो भएकाले सबैको संस्कार संस्कृतिको रक्षा गर्नुपर्ने बताउनुभयो ।