छविलाल पाण्डे
बुटवल, पुस ५ गते । रुपन्देही जिल्लाको आनन्दवन गाउँपालिकाका तत्कालीन अध्यक्ष रोमणीप्रसाद पाठकको निधन भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका पाठकको क्यान्सरका कारण ६९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
पाठक नेपाली कांग्रेसको तर्फबाट २०४९ सालमा भएको स्थानीय निर्वाचनमा आनन्दवन गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पाठक राममणि बहुमुखी क्याम्पस रुपन्देहीका पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँले रुपन्देहीका धेरै सङ्घ संस्थामा नेतृत्व प्रदान गर्नुभएको थियो ।
धार्मिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वको पहिचान बनाउनुभएका स्वर्गीय पाठक तिलोत्तमा नगरपालिका ६ का वडा अध्यक्ष गणेश पाठकको बुबा हुनुहुन्छ ।
रुपन्देहीका राजनैतिक, धार्मिक तथा शैक्षिक व्यक्तित्वहरुले स्वर्गीय पाठकको निधनले स्तब्ध र मर्माहत बनाएको भन्दै पाठकप्रति श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।