काठमाडौं, पुस ५ गते । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ ठेगाना भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ३७ वर्षीय बुद्धिबहादुर बस्याल छन् ।
पक्राउमध्ये ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुई लाख र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै एक जना पीडितबाट एक लाख ९० हजार रूपियाँ लिई सम्पर्कविहीन भएका थिए ।
पैसा लिई सम्पकविहीन भएपछि पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ज्वालारामलाई काठमाडौं बागबजारबाट र बुद्धिबहादुरलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।