• ५ पुस २०८१, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जामा स्वागत

blog

वालिङ (स्याङ्जा),  पुस ५ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई आज स्याङ्जाका विभिन्न स्थानमा स्वागत गरिएको छ । 

कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि आज स्याङ्जा आइपुग्नुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई स्याङ्जा र कास्कीको सिमाना फेदीखोलादेखि पुतलीबजार, भिरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयलगायतले स्वागत गरेका हुन् ।

सडकमार्ग हुँदै यहाँ आउनुभएकी पूर्वराष्ट्रपति भण्डारीलाई जिल्लाका विभिन्न स्थानमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए । 

भण्डारीले आज दिउँसो शाहवंशको कुलदेवताको रुपमा रहेको आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका स्याङ्जाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।

“पूर्वराष्ट्रपति भण्डारी आलमदेवी मन्दिरमा पूजाआजा तथा यस ठाउँको अवलोकन गर्नका लागि आउनुभएको हो”, उहाँले भन्नुभयो, “नितान्त पूजाआजाका लागि आउनुभएकाले औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।” रासस