• ५ पुस २०८१, शुक्रबार

सेवाग्राहीलाई हैरानी दिएपछि अध्यक्षले गरे तोडफोड

blog

गापा अध्यक्ष र स्क्यानर फुटाएपछिको राहदानी फाँट । तस्बिर ः तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, पुस ५ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीबाट सहज रूपमा सेवा नपाएको भन्दै गाउँपालिका अध्यक्षले कार्यालयको सामान तोडफोड गरेको छ । कार्यालयले विकट गाउँबाट आएका सेवाग्राहीलाई तिन दिनसम्म झुलाएर दुख दिने गरेको आरोप लगाउँदै तोडफोड गरेको जनाएको छ । 

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदवहादुर थापाले कालीगण्डकी गाउँपालिकाबाट आएका सेवाग्राहीहरूले सहज रूपमा सेवा नपाएको भन्दै राहदानी फाँटको स्क्यानर नै फुटाइदिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । स्क्यानर फुटेपछि राहदानी फाँटको सेवा सबै ठप्प भएको उहाँको भनाइ छ । विभागबाट स्क्यानर मगाएकाले आएपछि मात्रै सेवा सुचारु हुने गैरेले बताउनुभयो ।

सदरमुकामबाट विकट रहेको कालीगण्डकी गाउँपालिकाबाट सेवा लिन प्रशासन आउँदा दिउँसोको दुई बज्ने भएकाले विकटलाई प्राथमिकता दिएर सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ । राहदानी बनाउनका लागि दुई दिनको टोकन गइसकेको भन्ने र  कालीगण्डकीबाट आएका सेवाग्राही राहदानी बनाउनैकै लागि तीन दिनसम्म बस्नुपर्ने अवस्था दुःखद भएको थापाले बताउनुभयो ।

यता शुक्रवारका लागि राहदानी बनाउन टोकन लिएका सेवाग्राहीहरू मर्कामा परेर बिहानै घर तर्फ फर्किएका छन् ।  शुक्रवार काम नहुने र शनिवार कार्यालय बन्द हुने भएकाले घर फर्किएको शुक्रवारका लागि टोकन लिनुभएका कालीगण्डकी १ हर्मिचौरका रोमकान्त पाण्डेले गुनासो गर्नुभयो । बिहीबार होटेल बसेर शुक्रवार काम सकेर घर जाउँला भनेको कामै नभै यसै फर्किनुपर्दा समय र पैसा दुवै खर्च मात्रै भएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले विकटलाई हेर्ने दृष्टि नै फरक भएको नेपाली काँग्रेस जिल्ला सचिव तथा कालीगण्डकी १ हर्मिचौरका स्थानीय जगदीश भट्टराई ले गुनासो गर्नुभयो । विकटका नागरिकलाई नागरिक जस्तो व्यवहार नगर्ने र हेपाहा व्यवहार गर्ने गरेको उहाँको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको भीड भएकाले राहदानीका लागि एक दिन अगावै टोकन वितरण गरी सेवा प्रवाह गरेको जनाएको छ ।

नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले स्थानीय सरकार र सङ्घीय सरकारका रूपमा समन्वयको अभावको कारण समस्या भएको बताउनुभयो । समस्याहरूलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्नेमा तोडफोडमै जानु गलत भएको उहाँको तर्क छ । जिल्ला प्रशासनबाट हुने सेवा प्रवाहमा थप सुधार गर्नु आवश्यक भएको उहाँको भनाइ छ ।

जिल्ला प्रसासन कार्यालय गुल्मीबाट हुने सेवा प्रर्वाहमा कसैलाई काखा र कसैलाई पाखा नहुने प्रशासनले जनाएको छ ।  विकटलाई मध्यनजर गर्दै मेलबाट अपुग सिफारिस मगाएर सहजीकरण गर्दै आएको कार्यालयले जनाएको छ । 

स्क्यानर फुटाउने अध्यक्षलाई नियन्त्रणमा लिई क्षतिपूर्तिसहित राजनीतिकदलहरुको रोहवरमा लिखत रूपमै माफ मागेर छाडिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।