• ८ पुस २०८१, सोमबार

फिक्कलमा पहिलो चौमासिकमा १० करोडभन्दा बढी खर्च

blog

फिक्कल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगर नागरिकले गरेको प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : बाबुराम देवकोटा

सिन्धुलीमाढी, पुस ४ गते । सिन्धुलीको फिक्कल गाउँपालिकाले चालु आर्थिक वर्ष ०८१/०८२ को पहिलो चौमासिकमा १० करोड २९ लाख २७ हजार ९४२ रुपियाँ बजेट खर्च गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गरेको काम कारबाही सार्वजनिक गर्ने उद्देश्यले बुधबार गरेको सार्वजनिक सुनुवाइका कार्यक्रममा उक्त जानकारी नागरिकलाई गराएको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल विनियोजित रकममध्येबाट २४ करोड ८८ लाख ९९ हजार रुपियाँ निकासा भएको र उक्त निकासा भएको रकमबाट १९ दशमलव ३८ प्रतिशत रकम खर्च भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार खर्च भएको रकममध्ये पुँजीगत एक करोड ९० हजार ५३५ रुपियाँ र चालु खर्च नौ करोड ४१ लाख २९ हजार ५७२ रुपियाँ रहेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट ससर्तसहित कुल ६२ करोड ५३ लाख ६३ हजार ८८० रुपियाँ बजेट विनियोजित गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत रजनमगरले पूर्वाधार, शिक्षा, कृषि, स्वास्थ्य, खानेपानी, खेलकुद, रोजगार, पर्यटन, सिप तथा दक्षताका साथै कर सङ्कलन र उपयोगितालगायतका विषयमा गाउँपालिकाले गर्दै आएका काम कारबाही, सुशासन, पारदर्शीता र जनसहभागिताका विषयमा नागरिकलाई जानकारी गराउनुभएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट निकासा र विकास योजना सम्झौतामा भएको ढिलाई, विविध अन्य कारणले पूजीगत बजेट खर्च कम भएको उहाँले बताउनुभयो । गाउँपालिकामा चालु आर्थिक वर्षमा एक सय सात योजना सञ्चालन हुने र तीमध्ये ६३ वटा योजनाको सम्झौता भइसकेको छ । बाँकी योजना पुस महिनाभित्र सम्झौता भइ सक्ने गाँउपालिकाले जनाएको छ ।

कार्यक्रममा स्थानीय सरकारका काम कारबाहीका विषयमा नागरिकले उठाएको सबालको जवाफ दिनुहुँदै गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफ देहितका लागि सार्वजनिक सुनुवाइ गरिएको बताउनुभयो ।

उहाँले नागरिकले देखेका सपना पूरा गर्ने उद्देश्यले नै स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘त्यसको कार्यभार पूरा गर्न गाउँपालिकालाई सवलीकरण, सुशासन, पारदर्शीता र जनसहभागिताका माध्ययमबाट ‘समृद्ध फिक्कल, सुखी फिक्कलवासी’ भन्ने नारालाई आत्मसात् गरेर काम गर्दै आएका छौं ।’’  

गाउँपालिकामा सपना मात्र नभएर त्यसलाई पूरा गर्ने गन्तव्यतर्फ सरकार अग्रसर भएको उल्लेख गर्दै उहाँले सेवामार्फत सुशासन र सुशासनमार्फत विकास समृद्धिको योजनालाई प्राथमिकीकरण गर्ने गरेको बताउनुभयो ।

बागमती प्रदेश सरकारसँगको सहकार्यमा स्थानीय सरकार र नागरिकको २०/२० प्रतिशत र प्रदेश सरकारको ६० प्रतिशत लगानीमा एक वडा एक उत्पादन कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ मा सञ्चालन भइरहेको र चालु आर्थिक वर्षमै वडा नम्बर १ मा समेत उक्त कार्यक्रम विस्तार गरी स्थानीयस्तरमै रोजगारको सम्भावनालाई बढाउदै लगिने गाउँपालिका अध्यक्ष सुनुवारले जानकारी गराउनुभयो ।