• ८ पुस २०८१, सोमबार

नेवाः लोककला कार्यशाला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ४ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा मङ्गलवार नेवाः लोककला कार्यशाला सम्पन्न भएको छ । सो अवसरमा नेवाः संस्कृतिविद् गणेशराम लाछीसँग अन्तरसंवादसमेत गरिएको थियो । 

संस्कृतविद् लाछीले योमरी र यसमा भएको नेवाः लोककलाका विविध आयाम र पक्षका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले योमरीलाई नेपालको महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदाका रूपमा व्याख्या गर्नुभयो । नेवारी सांस्कृतिक कला जीवनदर्शनसँग पनि जोडिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “लोककलामा योमरीलाई मूर्तिकलाका रूपमा लिन सकिन्छ । यसका बारेमा थप खोज तथा अनुसन्धान गरिनु जरुरी छ ।”

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेवाः कलाले नेपाली संस्कृतिलाई समृद्ध तुल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । लोककला विभाग प्रमुख प्रदीप अधिकारीले नेवाः समुदाय लोकसंस्कृति, लोकपरम्परा तथा लोककलामा धनी रहेको बताउनुभयो । कार्यक्रम संयोजक मनरा प्रजापतिले नेवारी समाजमा प्रत्यक्ष रूपमा अमूर्त संस्कृति देख्न सकिने बताउनुभयो ।