मकाउ, पुस ३ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङ मकाउमा चीनले शासन गर्न थालेको २५ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने भ्रमणका लागि बुधबार मकाउ आइपुग्नुभएको छ । सी बुधबार अपराह्न मकाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको चिनियाँ सरकारी प्रसारक सिसिटिभीले जनाएको छ ।
पोर्चुगलको पूर्व उपनिवेशलाई सन् १९९९ डिसेम्बर २० मा ‘एक देश, दुई प्रणाली’ ढाँचाअन्तर्गत चीनलाई हस्तान्तरण गरिएको थियो जसले चिनियाँ मुख्य भूमिभन्दा स्वायत्तता र व्यापक नागरिक स्वतन्त्रताको प्रतिज्ञा गरेको थियो ।
चीनमा एक मात्र स्थान जहाँ क्यासिनो जुवालाई अनुमति दिइएको मकाउ शहरले लामो समयदेखि विश्वको शीर्ष क्यासिनो हबको रूपमा रहेको लास भेगसलाई उछिनेको छ ।
भ्रमणको क्रममा सी मकाउको नयाँ प्रशासनको उद्घाटनसमारोहमा सहभागी हुनुका साथै निरीक्षण भ्रमण पनि गर्ने सिन्ह्वाले जनाएको छ । मकाउको सर्वोच्च अदालतका पूर्व प्रमुख साम होउ–फेईले चीनलाई मकाउ हस्तान्तरणपछिको चौथो नेताका रुपमा शुक्रबार सपथ लिनुहुनेछ ।
मकाउको ८१ प्रतिशत हिस्सा राजस्व सङ्कलन क्यासिनोबाट गर्छ । सामले मकाउले क्यासिनोमा मात्र भर पर्नेभन्दा यसलाई अन्य स्वरूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘ग्रेटर बे एरिया’ भनेर चिनिने मकाउको आर्थिक विविधीकरण र चीनको क्षेत्रीय खाकामा एकीकरण राष्ट्रपति सीको भ्रमणको मुख्य विषय हुने विश्लेषकहरूले एएफपीसँग बताएका छन् ।
क्यासिनो कन्सल्ट्यान्ट बेन लीले भन्नुभयो, “राष्ट्रपति सी सम्भवतः मकाउका व्यवसायीहरूले दुई वर्षअघि वाचा गरेको गैर–खेलजन्य लगानीको लागि प्रोत्साहन गर्न चाहनुहुन्छ ।
मकाउलाई आंशिक रूपमा विकासको लागि भूमि आपूर्ति बढाउनको लागि भाडामा दिइएको हेङ्किन टापुको पनि भ्रमणको सम्भावना रहेको लीले बताउनुभयो । सीको यात्रा कार्यक्रमबारे पूर्ण जानकारी भने सार्वजनिक गरिएको छैन ।
अधिकारीहरूले राष्ट्रपति सीको भ्रमणका अवसरमा मकाउमा ड्रोन प्रयोगमा अस्थायी प्रतिबन्ध र रेल सेवाहरूको आंशिक निलम्बनसहितका सुरक्षा उपायहरू बढाएका छन् ।
फेरीबाट एक घण्टाको दूरीमा रहेको हङकङबाट आउने आगन्तुकहरू र हङकङ, मकाउ र झुहाई जोड्ने विशाल पुलमा चालकहरूका लागि सुरक्षा जाँच बढाइएको छ । रासस/एएफपी