• १६ माघ २०८१, बुधबार

प्रेरणाको स्रोत बन्दै भलमन्सा राजकुमारी चौधरी

blog

सामूहिक च्याउ खेतीको तयारीमा जुटेका बस्तीका महिलासँग भलमन्सा राजकुमारी चौधरी । तस्बिर : चाँदनी आचार्य

घोडाघोडी (कैलाली) पुस ३ गते । एक दिन राजकुमारी चौधरीले आफ्ना पतिलाई भलमन्सा बन्न सुझाव दिनुभयो । थारू समुदायमा भलमन्सा भनेको गाउँ या बस्तीको अभिभावक हो । परम्परादेखि नै यो पदमा पुरूष मात्र चुनिने चलन थियो । त्यसैले उहाँले श्रीमानलाई यो पद दाबी गर्न भन्नुभयो ।  

भएका भलमन्साले गतिलो काम गरेनन्। तपाईले नै भलमन्सा हुन्छु भनेर दाबी गर्नुस्’ आफूले त्यो बेला भनेको उहाँले सम्झनुहुन्छ । उहाँका श्रीमानले भलमन्सा बन्न आफूलाई मनै नभएको जवाफ दिनुभयो । राजकुमारीले फेरि सम्झाउनुभयो– तपाई भलमन्सा बन्नुस् । म भलमन्साले गर्ने सबै काम गरिदिन्छु । उहाँले धेरै दिन लगाएर आफ्ना श्रीमानलाई मनाउनुभयो । नामको भलमन्सा उहाँको श्रीमान हुनुभयो, कामको राजकुमारी ।

समय बित्यो । एक दिन राजकुमारी आफैँ कैलालीको घोडाघोडी नगरपालिका -१० आमखैया मुक्त कमैया शिविरका ७० घरपरिवारको मुखिया अथवा भलमन्सा हुनुभयो । अहिले उहाँ आफ्नो समुदायको लागि रोलमोडल (प्रेरणाको स्रोत) बन्नु भएको छ ।

थारू समुदायको गाउँमा जन्मेदेखि मृत्युसम्म आइपर्ने विभिन्न संस्कारमा थिति बसाउनेदेखि बाटोघाटो, बिजुली, खानेपानी, शौचालय निर्माणको कार्यमा किन नहोस राजकुमारी दिलोज्यान दिएर रातदिन नभनी काम गर्नुहुन्छ ।

राजकुमारीलाई चार कार्यकाल पूरा हुँदासम्म भलमन्सामै गाउँलेहरुले रूचाएका छन् ।

समुदायको हरेक सुखदुःखमा साथ दिँदै गाउँको विकासमा उहाँले गरेको योगदानकै कारण राजकुमारीलाई चार कार्यकाल पूरा हुँदासम्म भलमन्सामै गाउँलेहरुले रूचाएका छन् । बोल्दा निर्धक्क भएर बोल्ने राजकुमारीका सङ्घर्षका कथा पनि उस्तै छ । अभाव, विभेद, उत्पीडनको भुङ्ग्रोबाट फुत्केर आफू अहिलेको अवस्थामा आएको उहाँले बताउनुभयो ।

‘गाँसबासको ठेगान थिएन, कहिले कता बस्यो कहिले कता बस्यो, छोराछोरी साना थिए, खान लाउनको समस्या थियो’ उहाँले भन्नुभयो्, ‘दुःख र सङ्घर्षका पहाड छिचोलियो नि ।’  सुरूमा राजकुमारीलाई यति लामो समय भलमन्सा बनुँलाजस्तो लागेको थिएन । हुन त उहाँलाई भलमन्सा बनुँला भन्ने पनि लागेको थिएन । सरकारले सूचीकृत गरेका मुक्त कमैयाको सूचीमा छुटेकाहरूले सुरू गरेको अधिकारको आन्दोलनमा हिँड्दाहिँड्दै उहाँमा परिवर्तन आएको हो ।

कुनैबेला साहुकहाँ कमैया बसेको परिवारसँग राजकुमारीको विवाह भयो । उहाँले ससुरा, श्रीमान अर्काको घरमा कमैया बस्नुभएको रहेछ । २०५७ सालमा सरकारले कमैया मुक्त भएको घोषणा गर्‍यो । तर उहाँको परिवारको नाम भने सरकारले सूचीकृत गरेको मुक्त कमैयामा परेन । मुक्त भएको २३ वर्ष पुग्दासमेत उहाँको परिवारले सरकारबाट पाउने सुविधा पाएको छैन ।

उक्त शिविरमा बस्ने ४० देखि ५० जनाको नाम मुक्त कमैयाको सूचीमा छैन । २०५८ सालमा मुक्त भएपछि २०६३ सालसम्म राजकुमारीको परिवार गाँसबासकै लागि विभिन्न ठाउँमा भौँतारिनुपरेको थियो । ‘खै कसरी मुक्त कमैयाको लिष्टमा नाम छुट्यो, हामीजस्तै विभिन्न ठाउँबाट आएका मुक्तकमैया यो बस्तीमा बसेका छौँ, निकै दबाब र आन्दोलन गरेपछि २०६३ सालमा सात दलको निर्णयले तोकेको आमखैया जङ्गलमा बस्न थालेका हौँ ।’ गाँसबास र आफ्नो अधिकारको लागि मुक्त कमैयाको आन्दोलनमा जाँदाजाँदै राजकुमारीले आफूमा परिवर्तन आएको बताउनुभयो ।

‘पहिला पहिला त म घरबाट बाहिर निस्केकै थिइनँ । मुक्त कमैयाको व्यवस्थापनका लागि हुने आन्दोलन सुरू भयो । म पनि जान थालेँ, आफ्ना मागहरू नारा लगाएर राख्थ्यौँ, त्यस्तै गर्दागर्दै मैले आफूलाई लागेको कुरा भन्न थालेँ, बोलेपछि काम हुने रहेछ अनुभव गरें’  राजकुमारीले भन्नुभयो ।

बसोबासको व्यवस्था भए पनि बस्तीमा बत्ती थिएन, बाटो थिएन । शौचालयको समस्या थियो । राति जंगली जनावर बाघ, स्यालले घरमा पालेको कुखुरा, बाख्रा खाइदिन्थ्यो । गाउँमा बत्तीको अति आवश्यक थियो । राजकुमारीले बस्तीको समस्याप्रति भलमन्साले काम गर्न नसकेको अनुभूति गर्नुभयो । त्यसपछि उहाँले आफ्नो श्रीमानलाई भलमन्सा बन्न आग्रह गर्नुभएको हो । 

‘एक वर्ष श्रीमानको नाम भलमन्सामा भए पनि मैले नै काम गरें । काम गरेको देखेपछि बस्तीमा मलाई नै भलमन्सा बनाउनुपर्छ भन्ने कुरा उठ्यो । बनाएँ पनि । डाेर्‍याउँदै लगें, अहिले त मैले छोड्छु भन्दा पनि दिँदैनन्’ उहाँले भन्नुभयो ।

पहिलो पटक महिला भल्मन्सा हुँदा समाजमा एक दुईजना पुरुषले निकै होच्याउने, गालीसमेत गरेको उहाँको अनुभव छ। हुन त उहाँले भलमन्सा भएको दुई वर्षसम्म गाउँलेबाट पनि पाउनुपर्ने पारिश्रमिक पाउनुभएको थिएन ।

थारू समुदायमा बाली भित्र्याउने बेला भलमन्सा र चिराकीका लागि पारिश्रमिक छुट्याउने गरिन्छ । प्रत्येक घरबाट उनीहरूलाई छुट्याएको अन्नबाली नै भलमन्साको पारिश्रमिक हुन्छ ।

थारू समुदायमा बाली भित्र्याउने बेला भलमन्सा र चिराकीका लागि पारिश्रमिक छुट्याउने गरिन्छ । प्रत्येक घरबाट उनीहरूलाई छुट्याएको अन्नबाली नै भलमन्साको पारिश्रमिक हुन्छ । पछिल्लो समय कतिपयले नगदसमेत दिने गरेका छन् । उनीहरूलाई प्रतिव्यक्ति कति छुट्याउने भन्ने निर्णय सामूहिक रुपमा भलमन्साको रोहबरमा गरिन्छ ।  

भलमन्सा भएपछि गाउँको विकासमा उहाँको खटाई देखेर गाउँलेले दुई वर्षपछि राजकुमारीलाई सामान्य खर्च दिने निर्णय गरे । पुरूषको बाटो हेर्दा काम नभएपछि जोशमा भलमन्सा बनेकी राजकुमारीको पहिलो प्राथमिकता गाउँमा जसरी पनि बत्ती ल्याउनु थियो। ऐलानी जग्गामा बसोबास भएका कारण बिजुली बत्ती विस्तारमा कन्ज्युस्याइँ गरियो । राजकुमारीले आफ्नो बस्तीमा बत्ती चाहियो भनेर विद्युत् कार्यालय, नगरपालिका कार्यालय धेरै धाउनुभयो ।

उहाँ एक्लैले भनेको सम्बन्धित निकायले मानेन । नमानेपछि उहाँले बस्तीका बासिन्दालाई धर्ना नदि नहुने भयो भनेर सम्झाउनुभयो । अनि गाउँलेलाई एकजुट पार्नुभयो । सबैलाई लिएर विद्युत् कार्यालयमा धर्ना दिन जानुभयो । धर्ना  दिएपछि बिजुलीको मिटर दिन तयार भएको उहाँ बताउनुहुन्छ ।

‘बसाल्ने बेलामा जंगलमा ल्याएर बस्ती बसाल्ने, भोट माग्न आउने, सुविधा दिने बेलामा नम्बरी जग्गा छैन भनेर नदिने ? 

‘बसाल्ने बेलामा जङ्गलमा ल्याएर बस्ती बसाल्ने, भोट माग्न आउने, सुविधा दिने बेलामा नम्बरी जग्गा छैन भनेर नदिने ? मैले सबै बस्तीका मानिसलाई लिएर दबाब दिन गएपछि बिजुली गाउँमा आयो’ उहाँले जोसिदै भन्नुभयो ।

राजकुमारीले नगरपालिका र वडा बस्तीमा बाटोको समस्या दर्साएपछि बस्तीमा अहिले  ग्राभेल बाटोको सुविधा छ । नगरपालिकाबाट डोजर ल्याएर बाटोको खाल्डाखुल्डी मिलाउन लगाएपछि वडाको बजेटमा ग्राभिल भयो, अहिले आफ्नो परिवारसहित बस्तीका अरू परिवार पनि संविधानले सुनिश्चित गरेको आवासको हक सरकारले दिलाउँछ कि भन्ने आशमा रहेको उहाँ बताउनुहुन्छ ।

‘बस्तीको नजरमा मुक्त कमैया छौँ, सरकारको नाममा सुकुम्बासी हामीले धेरै संघर्ष गरेपछि सरकारले जङ्गलमा बस्न दिने व्यवस्था त गर्‍यो । अहिले त भूमि व्यवस्था आयोगबाट जग्गा नापी पनि भएको छ, हेरौं लालपुर्जा कहिले आउँछ, सुकुम्बासीको नाममा आउँछ कि मुक्त कमैयाको नाममा आउँछ ’ उहाँले भन्नुभयो ।

बाटो, बिजुली आएपछि र जग्गा पाइने कानुन सुनिश्चित भएपछि पनि बस्तीमा चाहिने सुविधा र आयआर्जनको बाटो खोज्न उहाँले काम गर्नुभएको छ । राजकुमारीकै पहलमा गैर सरकारी संस्थाको सहयोगमा गाउँमा २० वटा शौचालय निर्माण भएको स्थानीय रामबहादुर चौधरीको भनाइ छ । 

महिलाका लागि प्रेरणाको स्रोत

पुरूषहरूको मात्रै एकाधिकार तोड्दै राजकुमारी भलमन्सा बनेपछि गाउँकी  चिराकी (सूचना बाहक) पनि महिला नै हुनुभयो । राजकुमारीबाट प्रभावित भएर ६५ वर्षीया सुवज्ञादेवी डगौरा थारू चिराकी बन्नुभएको हो । थारू समुदायमा चिराकी भनेको गाउँमा कुनै बैठक, सभा बस्नु परेमा घर-घरमा पुगेर खबर गरी बस्तीका मानिस जम्मा गराउने काम गर्ने मान्छे हो । भलमन्साले अह्राएको काम गर्नु पनि चिराकीको जिम्मेवारी हुन्छ।

‘गाउँमा बेगारी गर्नु परे, समूह बस्दा, विवाह, मृत्यु संस्कारमा सामूहिक काम गर्दा, खोप लगाउने काम हुँदा खबर पुर्‍याउने  काम गर्छु’ सुवज्ञाले भन्नुभयो , ‘राजकुमारी भलमन्सा भएपछि म चिराकी भएँ।’

राजकुमारीले चिराकी बन्न सुवज्ञालाई मात्र होइन आयआर्जन गर्न गाउँका अरू महिलालाई प्रेरणा दिने गर्नुभएको छ ।  पहिला महिला समूह गठन गरेर बचत गर्न प्रेरित गरेको उहाँ बताउनुहुन्छ । त्यसपछि आय आर्जनका लागि विभिन्न  काममा पनि गाउँका महिलालाई अग्रसर बनाउनुभयो ।

स्थानीय गीता चौधरीले गुराँस घरबगैंचा समूह’ बनाएर महिलाहरूले आयआर्जन थालेको बताउनुहुन्छ । राजकुमारीको सङ्गतले आफूमा पनि परिवर्तन आएको बताउने गीता उक्त समूहको सचिव हुनुहुन्छ । पदमा बसेर काम गर्न राजकुमारीले नै प्रेरित गरेको उहाँको भनाइ छ ।

‘राजकुमारी भलमन्सा भएपछि हामीलाई एकजुट हुन, बचत गर्न प्रेरित गर्नुभयो । त्यसपछि आय आर्जनका उपाय खोज्न पनि उहाँले नै पहल गर्नुभयो । उहाँकै पहलमा नगरपालिका, प्रदेश सरकार तथा सङ्घ संस्थाबाट च्याउखेती, बङ्गुरपालन, तरकारी खेतीमा सहयोग पाएका छौँ’ गीताले भन्नुभयो ।

गीतालगायत गाउँका महिला सामूहिक च्याउखेती गर्ने सुरसारमा छन् । राजकुमारीको कामबाट प्रभावित भएर गाउँमा अन्य महिलाहरू समेत नेतृत्व लिनमा अग्रसर हुने गरेको गीताले बताउनुभयो । उहाँका अनुसार अहिले सामुदायिक वन, बचत समूह, उपभोक्ता समितिको नेतृत्व महिलाले नै गर्दै आएका छन्।

‘गाउँमा सबै महिला जागरूक भएपछि विकास निर्माणमा सबै सजिलै एकजुट हुन थालेका छन् । बस्तीमा झैझगडा, मनमुटाव पनि कम भएको छ’ गीताले भन्नुभयो । राजकुमारीको पनि नेतृत्व लिनेले सबैलाई सक्षम बनाउन लाग्नुपर्ने आफ्नो सोचाइ रहेको छ ।

‘आफूमात्र सक्षम भएर भएन गाउँका महिला दिदीबहिनीलाई पनि अग्रसर बनाउनुपर्छ, गाउँमा कुनै अवसर आयो भने महिला दिदी बहिनीलाई जानुपर्छ, बोल्नुपर्छ भन्छु’ राजकुमारीले भन्नुभयो, ‘तब न बल्ल जिम्मेवारी पूरा हुन्छ ।

नेतृत्वमा महिला अब्बल

घोडाघोडी नगरपालिकामा १२ वटा वडामा ७६ थारू गाउँ छन्, जहाँ ७६ जना भलमन्साले नेतृत्व सम्हालेका छन् । थारू समुदायको परम्परागत प्रथाको रूपमा रहेको भलमन्साको भूमिकामा पूरूष रहँदै आए पनि पछिल्लो केही बर्षयता महिलासमेत नेतृत्वमा आउन थालेका हुन् ।

घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले ७६ गाउँमध्ये छ वटा गाउँमा महिला भलमन्सा रहेको उल्लेख गर्नुभयो । उहाँले १७ सदस्यीय नगर भलमन्सा समितिमा कोषाध्यक्षसहित तीनजना महिला भलमन्सा रहेको जनाउनुभयो ।

‘सदियौंदेखि पुरूष भलमन्सा हुँदै आएको अवस्थामा महिला भलमन्सा हुँदा सुरूमा गाउँबस्तीका मानिसले टीकाटिप्पणी गरे पनि महिला भलमन्साले इमान्दारीपूर्वक अब्बल काम गरेका छन् ।’

परापूर्वकालदेखि भल्मन्साको नेतृत्व पुरुषकै हातमा हुन्थ्यो । तर पछिल्लो पाँच वर्षयता महिलाहरूले भल्मन्साको नेतृत्व लिन थालेका छन्। भलमन्साको नेतृत्वदायी भूमिका पुरूषलेभन्दा महिलाले राम्रो गरेको समेत अध्यक्ष चौधरी बताउनुहुन्छ । घोडाघोडी नगरपालिकामा १२ वटा मुक्त कमैया शिविर छन् । तीमध्ये महिला भलमन्सा भएको आमखैया शिविरमात्र हो ।

‘सदियौंदेखि पुरूष भलमन्सा हुँदै आएको अवस्थामा महिला भलमन्सा हुँदा सुरूमा गाउँबस्तीका मानिसले टीकाटिप्पणी गरे पनि महिला भलमन्साले इमान्दारीपूर्वक अब्बल काम गरेका छन्’ अध्यक्ष चौधरीले भन्नुभयोे । उहाँले महिला भलमन्साभरिमा राजकुमारीले बस्तीका लागि नमुना काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।

Author
चाँदनी आचार्य

उहाँ कैलाली (घोडाघोडी)बाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।