• ३० चैत २०८१, शनिबार

निरोधात्मक उपचार प्राथमिकतामा: मन्त्री पौडेल

blog

अस्पतालको उद्घाटन गर्नुहुँदै मन्त्री पौडेल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, मङ्सिर ३० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निरोधात्मक उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ ।  म्याग्देमा निर्माण गरिएको १० शय्याको अस्पताल भवनको शनिवार उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्यको बारेमा सचेतनाको कमी हुँदा बिरामी बढिरहेकोले सरकारको ठुलो रकम खर्च गर्नु परेकोले निरोधात्मक अस्पताल बनाउन लागिएको बताउनुभयो ।

मन्त्री पौडेलले भन्नुभयो, ‘नेपालीमा बिरामी हुनबाट कसरी बच्न सकिन्छ भन्ने सचेतनाको कमी हुँदा बिरामी बढिरहेकोले उपचारका खर्च बढेको छ यसलाई घटाउनको लागि निरोधात्मक अस्पताल स्थापना गर्न जरुरी छ ।’ रोग लागेर उपचार गर्ने चिकित्सक र रोग लाग्न नदिने परामर्शदाता छुट्टाछुट्टै अस्पताल बनाउन आवश्यक रहेको उहाँको भनाई थियो । समयमा नै रोगबाट बच्ने उपाय, रोग लाग्न लागेको सुरुवाती समयमा नै उपचार गर्ने हो भने स्वास्थ्यमा ठुलो खर्च जोगिने मन्त्री पौडेलको भनाई रहेको थियो । महिलाको स्वास्थ्य सुधार गर्न  महिला स्वास्थ्य स्वयं सेविकाको अहम् भूमिका रहेको उल्लेख गर्दै मन्त्री पौडेले स्वास्थ्य सचेतनाको लागि स्वयं सेविकालाई परिचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाको लागि महिला स्वास्थ्य स्वयं सेविकाले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य सचेतनामा समेत उहाँहरूलाई परिचालन गर्न सकिने बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, विगतमा उपचार गर्ने अस्पताल, चिकित्सक र उपकरणमा ध्यान दिएको देखियो अब सचेतनालाई साथसाथै लगेर बिरामी घटाउन लाग्नु पर्ने भएको छ ।’ निरोधात्मक उपचार अन्तर्गत नेपाल सरकारले किशोरीको लागि पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप दिन लागिएको उहाँले बताउनुभयो ।

 नेपालमा पाठेघरको क्यान्सर महिलाहरूमा हुने क्यान्सरमध्ये शीर्ष स्थानमा पर्ने भएकोले त्यसका विरुद्ध खोपको व्यवस्था गरिएको मन्त्री पौडेलले बताउनुभयो । ज्येष्ठ नागरिकलाई निमोनियाबाट जोगाउनको लागि खोपको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । मन्त्री पौडेलले भन्नुभयो, हाम्रै देशमा बिरामी बढिरहेका छन् खोप, परामर्श, योग शिक्षा जस्ता माध्यमबाट बिरामी घटाउन सकिन्छ ।’

कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, पूर्व प्रतिनिधिसभा सदस्य केदार सिग्देल, गण्डकी प्रदेशका सभा सदस्य श्यामराज महत, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गण्डकी प्रदेशका पूर्व मन्त्री डोबाटे बिक, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, पूर्व अध्यक्ष माया देवि राना,  प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारी लगायतले स्वास्थ्य मन्त्री समक्ष नव निर्मित अस्पलमा उपकारण थप गर्न तथा राजमार्गमा हुने दुर्घटनाका घाइतेको जीवन रक्षाको लागि ट्रमा सेन्टर बनाउनको लागि मन्त्री पौडेल समक्ष माग राख्नु भएको थियो । अस्पतालमा एक जना करारमा डा नियुक्त गरिएको छ।

त्यस्तै दुई जना ल्याबमा कर्मचारी नियुक्त गरिसकिएको छ । रु सात करोड ३४ लाख ५० हजार एक सय ९६ को लागतमा भवन निर्माण गरेको गाउँपालिकाले जनाएको छ । सो अवसरमा अस्पताल निर्माणमा योगदान दिने विभिन्न व्यक्तिहरू तथा भवन निर्माण कम्पनीलाई सम्मान गरिएको थियो ।