• २७ मंसिर २०८१, बिहिबार

आयोजना वर्गीकरण नहुँदा समस्या देखियो: अर्थमन्त्री पौडेल

blog

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल। फाइल तस्बिर

काठमाडौँ, मङ्सिर २६ गते। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास आयोजना कार्यान्वयनमा लागि तीन तहका सरकारबिच क्षेत्राधिकार परिभाषित हुन नसक्दा तथा आयोजना वर्गीकरण नहुँदा समस्या देखिएको बताउनुभएको छ।

अर्थ समितिको आजको बैठकमा उहाँले आयोजनाको वर्गीकरणसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कुन तहका सरकारले कस्तो आयोजना कार्यान्वयन गर्ने भनेर स्पष्ट पारिनुपर्छ भन्नुभयो। 

“हामीसँग हजारौँको सङ्ख्यामा खल्तीका आयोजना छन्। विस्तृत अध्ययन र सम्भाव्यताबिना नै त्यस्ता आयोजनामा बजेट परेका छ। सङ्घ सरकारको बजेटमा ७५ हजार लागतको योजना पनि परेको देखियो। यसरी हजार र लाखका योजना केन्द्र सरकारले राख्यो भने प्रदेश, स्थानीय तह, वडाले कस्ता योजना बनाउलान् र कार्यान्वयन गर्लान् ?”, उहाँले भन्नुभयो, “विनियोजन कौशल भएन भने स्रोतको सही सदुपयोग हुन सक्दैन। यसकारण योजनाको वर्गीकरण चाहियो।” 

निर्माण व्यवसायीको दायित्व सरकारले नरोकेको पनि उहाँको भनाइ छ। विधि र प्रक्रिया पुर्‍याएर आए सरकारले कुनै पनि निर्माण व्यवसायीको भुक्तानी नरोक्ने उहाँले स्पष्ट पार्नुभयो।

मुलुकको अर्थतन्त्रको अवस्था बिस्तारै सुधारोन्मुख देखिए पनि त्यसको गतिबाट आफू सन्तुष्ट नरहेको पनि अर्थमन्त्री पौडेलको भनाइ छ। “अर्थतन्त्रमा रहेको समस्या र दबाबबाट बिस्तारै बाहिर निस्कन खोज्दै छौँ। लामो समयदेखि थुप्रिँदै गएका समस्या भएकाले आजको भोलि नै समाधान हुन सक्दैन”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “विदेशी मुद्रा सञ्चिति राम्रो छ। पर्याप्त तरलता र ब्याजदर घटेको छ। मुद्रास्फीति वाञ्छित सीमाभित्र छ। तर यो प्रगतिसँग हामी सन्तुष्ट छैनौँ। यसमा थप सुधार आवश्यक छ। अहिलेको सुधारमा मात्रै चित्त बुझाएर हुँदैन।”

गत आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तुलनामा चालु आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा सरकारी राजस्व बढेको देखिए पनि लक्ष्यअनुसार भने अझै सङ्कलन हुन नसकेको अर्थमन्त्री पौडेलले बताउनुभयो। राजस्व प्रशासनमा रहेका समस्यालाई गम्भीर भएर निगरानी बढाइए पनि सरकारका प्रयास सम्पूर्ण रूपमा सफल हुन नसकेको उहाँको भनाइ छ। चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले राखेको राजस्व लक्ष्य हासिल गर्न गत आर्थिक वर्षको भन्दा करिब ३० प्रतिशत बढी राजस्व उठाउने पर्नेगरी महत्त्वाकाङ्क्षी भएर अर्थमन्त्रालयले काम गरिरहेको उहाँको भनाइ छ।

अहिले बजारमा तरलता पर्याप्त हुँदा र ब्याजदर घट्दा पनि लगानी बढ्न नसक्नुको कारणबारे आफूले नेपाल राष्ट्र बैङ्कसँग कुरा गरेको पनि अर्थमन्त्री पौडेले समितिलाई जानकारी दिनुभयो। त्यस्तै, शेयर भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र कर्नरिग जस्ता समस्या देखिएकाले त्यसलाई नियन्त्रण गर्नका लागि पहल भइरहेको उहाँको भनाइ छ। 

नेपालले इतिहासमै पहिलो पटक मुलुकको सार्वभौम साख मूल्याङ्कन गरेको र यसको नतिजा सन्तोषजनक अवस्था देखिएकाले अब बिस्तारै लगानी बढ्दै जाने आशा व्यक्त गर्नुभयो। सरकारले आफ्नो आवश्यकता र क्षमता हेरेर सार्वजनिक ऋण लिने पनि उहाँले स्पष्ट पार्नुभयो।

बैठकमा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले घटेको बजार माग र निजी क्षेत्रको मनोबल उकास्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो। “हाम्रो अर्थतन्त्रका समस्या बिस्तारै कम हुँदै गए पनि अझै कायम छन्। निजी क्षेत्रको आत्मविश्वास बढाउने चुनौती हाम्रासामु छ। बजारमा माग पनि घटेको छ”, डा महतले भन्नुभयो, “शेयर बजारमा सुधार भए पनि स्वास्थ्यकर रूपमा विकास हुन सकेको छैन। निकायम निकायहरूले समस्या हल गर्नेभन्दा पनि समस्या बढाउने काम गरेका छन्।” नेपालको बिमा क्षेत्र निकै अपारदर्शी रहेको र त्यहाँ मिलेमतो गरेर बिमाको दररेर आफूखुसी तय गर्ने प्रवृत्तिले कारोबार लागत बढी हुनगई आयोजनालाई समस्या भइरहेको उहाँको भनाइ छ। 

त्यस्तै, वैदेशिक सहयोगका आयोजनालाई दिइएको भन्सार छुट दिएको दुरुपयोग भइरहेको पनि  पूर्व अर्थमन्त्री डा महतको भनाइ छ।

उहाँले भन्नुभयो, “नेपालको सार्वजनिक ऋणको दायित्व निकै बढी भइसकेकाले अब विचार पुर्‍याएर मात्र ऋण लिनुपर्छ ,  द्विपक्षीय ऋण रोक्नै पर्ने बेला भएको छ। बहुपक्षीयबाट भने लिन सकिन्छ। किनकि त्यसका सेवा सर्त सहज छन्।” 

समिति बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताउनुभयो। चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले नयाँ चरणको आर्थिक सुधारका लागि प्रक्रिया थाल्ने उल्लेख गरेको र त्यसका लागि सरकारले उच्चस्तरीय सुझाव कार्यदल पनि गठन गरिसकेको उहाँको भनाइ छ। चालु आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता पूर्वअर्थमन्त्री डा महतले तयार पारेको, बजेट आफूले तयार पारेको र कार्यान्वयन गर्ने बेलामा वर्तमान अर्थमन्त्री पौडेलले जिम्मेवारी सम्हालेकाले अहिलेको बजेट पूर्वाग्रहरहित भएर कार्यान्वयन गर्न पनि उहाँले आग्रह गर्नुभयो। लक्षित राजस्व पुर्‍याउनुका लागि सरकारका अहिलेका प्रयास पर्याप्त नरहेको पनि पुनको भनाइ छ। 

सहकारी क्षेत्र नियमनका लागि जतिसक्दो चाँडो छुट्टै निकाय गठन गर्न पनि उहाँले सरकारसँग आग्रह गर्नुभयो।  बैठकमा सांसद उपेन्द्र यादवले कोभिड–१९ महामारीपछि बन्द रहेका छोटी भन्सार कार्यालयहरू सञ्चालनमा ल्याइनुपर्ने तथा सीमा क्षेत्रमा हुने चोरी-पैठारी रोकिनुपर्ने विषय उठाउनुभयो। 

बैठकमा सांसद विराजभक्त श्रेष्ठले मुलुकमा अनौपचारिक अर्थतन्त्रको आकार बढ्दै गएको र अवैध हुण्डी मौलाएको बताउनुभयो। अहिले धराशायी अवस्थामा रहेको सहकारी क्षेत्र नियमनका लागि तत्काल पहल थाल्न सरकार असफल भएको पनि उहाँले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “विकास खर्च प्रतिफल ठाउँमा मात्रै लगानी गर्नुपर्छ।”