• १० पुस २०८१, बुधबार

रक्तसञ्चार सेवा नवनिर्मित भवन प्रदर्शनीमार्गबाट

blog

प्रदर्शनीमार्गमा बनेको नेपाल रेडक्रस सोसाइटीको नवनिर्मित भवन ।

काठमाडौं, मङ्सिर २६ गते । प्रदर्शनीमार्गमा बनेको नवनिर्मित भवनबाट नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा सुरु भएको छ ।

२०७२ सालमा गएको महाभूकम्पले रक्तसञ्चार भवनमा क्षति पुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएको नेपाल रेडक्रसले अब नयाँ भवनबाट सेवा प्रदान गर्न सुरु गरेको हो ।

नेपाल रेडक्रसका निर्देशक पवनकुमार गुप्ताले भूकम्पबाट भवन क्षति भएपछि टेण्टमा बसेर सेवा गरेपश्चात् बालकुमारीमा अस्थायी रुपमा सेवा दिएको बताउनुभयो । उहाँले त्यहाँ पनि ठाउँ नपुगेपछि सोल्टीमोडमा अस्थायी संरचना बनाई सेवा दिँदै आएकोमा अहिले भूकम्पबाट क्षति भएको भवन बनेसँगै नयाँ भवनबाट सेवा सुरु गरिएको जानकारी दिनुभयो ।

निर्देशक गुप्ताले अहिले रक्तसञ्चारसम्बन्धी सम्पूर्ण गतिविधि प्रदर्शनीमार्गमा बनेको नयाँ भवनबाट भइरहेको बताउनुभयो । प्रदर्शनीमार्गमा रेडक्रस आउँदा सेवाग्राहीका लागि सुविधा र पायक पर्ने स्थान भएको उहाँको भनाइ छ ।

उहाँले नयाँ भवनमा सेवा सरेसँगै सरकारले तोकेको मापदण्डमा काम गर्न सकिने अवस्था रहेको बताउनुभयो । सुविधासम्पन्न भवनबाट सेवा दिन पाउँदा सहज भइरहेको उल्लेख गर्नुभयो ।

नेपाल रेडक्रसले नेपालमा पहिलो पटक २०२३ साल साउन १२ गते काठमाडौंमा वीर अस्पतालले उपलब्ध गराएको सानो कोठाबाट रक्तसञ्चार सेवा सुरु गरेको सेवा अहिले मापदण्ड पूरा गरेर सेवा दिने अवस्थामा आइपुगेको निर्देशक गुप्ताले बनाउनुभयो । उहाँले प्रदर्शनी मार्गमा सेवा सुरु भएसँगै रक्त सङ्कलनमा समेत वृद्धि भएको बताउनुभयो ।