चित्र मिजार
सिन्धुपाल्चोक, मङ्सिर २६ गते । त्रिपुरासुन्दरी गाउँपालिकाको आठ वर्षपछि प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ । उक्त भवनको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभएको छ ।
जिल्ला समन्वय समिति र त्रिपुरासुन्दरी गापाको ७०/३० बजेट साझेदारीमा चार करोड ८१ लाख ५६ हजार ५२७ रुपियाँ १४ पैसामा प्रशासकीय भवन निर्माण भएको उक्त गापाका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिनुभयो ।
सुविधासम्पन्न भवनबाट प्रभावकारी र गुणास्तरीय सेवा दिने प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइबाले बताउनुभएको छ । उक्त पालिकाको ६ वटै वडामा सुविधायुक्त प्रशासकीय वडा भवन ठडिसकेको छ । साथै सबै वडामा स्वास्थ्य चौकी र बर्थिङ सेन्टर निर्माण भई स्वास्थ्य सेवा प्रदान गरिँदै आएको अध्यक्ष बोहराको भनाइ छ । महल जस्ता भवनबाट प्रभावकारी सेवा पाउनेमा पालिकावासी आशावादी रहेको सो गापा पिस्करका पृथ्वीजङ्ग पाण्डेले बताउनभयो ।
सिन्धुपाल्चोकमा तीन नगरपालिका र नौ गाउँपालिकामध्ये अधिकांश पालिकाको प्रशासकीय भवन निर्माण भई सेवा दिँदै आएको छ । तर सुनकोशी गाउँपालिकाले आठ वर्ष हुदाँसमेत पालिकाको स्थायी केन्द्र तोक्न सकेको छैन । हेलम्बु गाउँपालिकाले केन्द्र तोके पनि प्रशासकीय भवन निर्माण गरेको छैन । बाह्रबिसे नगरपालिकाले पनि केन्द्र तोक्न र भवन बनाउन सकेको छैन ।