यदुप्रसाद भट्ट
मनाङ, मङ्सिर २६ गते । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाबाख्राका बथान लेकबाट बेँसी झर्न थालेका छन् । अत्यधिक चिसो हुनु तथा चरनमा समस्या आउन थालेपछि मनाङ भेडाबाख्राका बथान यति बेला बेँसी तथा न्यानो ठाउँतिर झार्न थालेका छन् ।
मनाङमा कृषकहरुको मुख्य पेसा भनेको भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीपालन हो । जब जब माथिल्लो भेगमा घाँस सकिँदै जान्छ तब तब गोठालाहरुले भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी बेसीतिर झार्ने गर्दछन् ।
मनाङ ङिस्याङ गाउँपालिकाका भेडाबाख्रा यति बेला गाउँमा न्यानो ठाउँमा झारिएको युवा पशुपालक सगर गुरुङले बताउनुभयो । उहाँले वर्षायाममा हिमालका काखमा चरेका भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीगोठ गाउँमै झारिएको बताउनुभयो ।
वैशाखदेखि असोजसम्मा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनः फर्किएको गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘गर्मी याममा ६ महिना लेक र जाडो यामको ६ महिना बेँसीमा भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका बारीमा प्रयोग हुने गरेको छ ।’’
बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने, भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ ।
चामे गाउँपालिकाको खान्चोकको भेडागोठ बेँसी झरेको राज गुरुङले बताउनुभयो । यस पालिकाको ५ वटै वडामा भेडापालन गरिने उहाँको भनाइ छ । उहाँले पनि हिमालमा हिउँचितुवाको डर हुने तथा घाँसको अभावमा भेडाबाख्रा बेँसी झार्न परेको जानकारी दिनुभयो ।
यसैगरी, नासोँ गाउँपालिका–८ ताचैका वडाध्यक्ष याद घलेले ६ महिनाका लागि भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरी गाउँ झारिएको बताउनुभएको छ । उहाँले गतवर्षहरुको तुलनामा यस वर्ष अत्यधिक चिसो बढेको उल्लेख गर्दै आफ्नो गाउँका ७ वटा भेडाबाख्राको गोठ चैतसम्म नै गाउँमै राखिने बताउनुभयो । वडाध्यक्षसमेत रहेका घले लामो समयदेखि भेडाबाख्रापालन गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘‘हिमाली भेगको आलु, जौ, करु, फापर, गहुँ तथा मकैका लागि मल नभई हुँदैन, हामी त ६ महिना हिमालको काखमा भेडागोठ लिएर जान्छौं र ६ महिना जाडो छल्न तथा मलका लागि बेँसी झार्छौं ।’’
हिजोआज मनाङका भेडाबाख्रा, च्याङ्ग्रा तथा चौँरीहरु मर्स्याङ्दी नदीको किनारतिर बेँसीमा देख्न सकिने स्थानीयले बताएका छन् । यति बेला बाटोबाटोमा जाडो छल्न बेँसी झर्दै गरेका भेडाबाख्राका बथान देख्न सकिन्छ ।