जीवछ यादव
सिराहा, मङ्सिर २६ गते । लहान नगरपालिकादेखि १५ किलोमिटर दक्षिण भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका–३ का नथुनी यादव र उहाँकी पत्नी किरण यादवले होटेल चलाएर तीन सन्तानलाई उच्च शिक्षा दिन सफल हुनुभएको छ ।
२०५६ सालमा गाउँबाट लहान आएका यादव दम्पती दुई छोराछोरीलाई कसरी उच्च शिक्षा दिनेबारे योजना बनाउनुभएको थियो । श्रीमान् नथुनी यादव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालको हाताभित्रै रहेको नेपाल रेडक्रस सोसाइटीको शाखामा ल्याब असिस्टेन्टका रूपमा महिनाको दुई हजार रुपियाँमा काम गर्न थाल्नुभयो । दुई हजारले कसरी गुजारा चलाउने र तीन सन्तानलाई शिक्षा दिन कसरी सम्भव होला भन्ने सोचेर पत्नी किरण यादव अस्पतालभित्रै होटेल चलाउने सोचमा पुग्नुभयो ।
उहाँहरूले होटेल चलाएरै अहिले जेठो छोरो कामेश्वर यादवलाई सिभिल इन्जिनियर, माहिलो छोरालाई बिएसिजी र छोरीलाई बिबिए पढाएर उदाहरणीय काम गरेको चर्चा अहिले भइरहेको छ ।
नथुनी भन्नुहुन्छ, “२०५६ सालमा दुई हजारको मासिक तलबमा काम सुरु गरेर २०७२ सालमा आइपुग्दा सात हजार रुपियाँ महिनाको पुगेको थियो । श्रीमतीले होटेल चलाएर कमाएको पैसाबाटै छोराछोरी पढाउन सम्भव भएको हो । अहिले भने होटेल छोडेर फलफूलको पसल चलाएका छौँ । तीन सन्तानलाई उच्च शिक्षा दिन सफल भएकोमा भित्रैदेखि आनन्द आइरहेको छ ।”
भगवानपुर गाउँपालिकाको गृहगाउँ गैरसाहामा बसेर छोराछोरीलाई उच्च शिक्षा दिन सकिने थिएन भन्दै नथुनी दम्पतीले सल्लाह गरेर अहोरात्र मेहनत गरेपछि छोराछोरी हुर्काउन र पढाउन सफल भएकोमा अहिले सन्तोष अनुभव भइरहेको बताउनुभयो । “लहान अस्पताल चोकमा अस्पतालको हाताभित्र होटेल चलाउँदा बिरामीलाई कहिलेकाहीँ कुरुवाका रूपमा सहयोगसमेत गरिदिँदा सम्बन्ध बढ्दै गयो र होटेल निकै चल्यो । तिनै सन्तानलाई उच्च शिक्षा दिने अवसर पाइयो,” उहाँले सुनाउनुभयो ।
लहान रेडक्रस सोसाइटीका प्रमुख मनिष यादवका अनुसार नथुनी र किरण मधेशी समाजका लागि प्रेरक साबित हुनुभएको छ । गाउँ देहातबाट आएर गुजारा गर्नु, छोराछोरीलाई स्तरीय शिक्षा र अस्पताल चोकमा घरघडेरीसमेत जोड्न सफल भएको प्रेरक उदाहरणका रूपमा हुनुहुन्छ ।