गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । कवि श्रवण मुकारुङका कविता अब चलचित्रमा सुन्न पाइने भएको छ । कवि मुकारुङले चलचित्र ‘दुःखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेख्नुभएको छ । दीपेन्द्र लामा लिखित तथा निर्देशित चलचित्रको पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता कथाको माग अनुसार राखिएको छ । माथि माथि सैलुङ्गेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे.. जस्ता चर्चित गीतका रचनाकार मुकारुङले आफू चलचित्रमा कविका रूपमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो । चलचित्रको प्रमुख पात्रको मनोविज्ञान र मुकारुङले लेख्नुभएको कवितामा मिल्जोजुल्दो पाइएकाले उहाँलाई कविता रच्न लगाइएको निर्देशक लामाले बताउनुभयो । कवि मुकारुङका कविताले चलचित्रको उचाइ र कथाको आयामलाई बढाउने काम गर्ने उहाँको विश्वास छ ।
क्लक वर्क क्रियसनको ब्यानरमा हिमाल कडरियाको निर्माण तथा सुदीप ढकाल कार्यकारी निर्माता रहनुहुने चलचित्रमा दयाहाङ राई, आचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा हुनुहुन्छ । आलोक शुक्लाले खिचेको चलचित्र भ्यालेन्टाइन डेको अवसर पारेर फागुन २ मा प्रदर्शन हुने बताइएको छ । चलचित्रलाई आर आर फिल्म्सले वितरण गर्दै छ । चलचित्रको हाल सम्पादन कार्य भइरहेको छ ।