• १० पुस २०८१, बुधबार

आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २६ गते । नेपाल उद्योग परिसङ्घले प्रस्तावित राजदूतहरूसँग आर्थिक सम्बन्ध विस्तारलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । 

परिसङ्घले सोमबार गरेको छलफलमा परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्दै नेपालमा रहेको लगानीका क्षेत्रका विषयमा सम्बन्धित देशका लगानीकर्तालाई नेपालसँग जोड्न राजदूतहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।  

अध्यक्ष अग्रवालले लगानी तथा निर्यात प्रवर्धन गर्न देश केन्द्रित विशिष्ट आर्थिक रणनीति बनाउनुपर्ने, विदेशी लगानीकर्ता तथा स्वदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा ‘फोकल कन्ट्याक्ट पर्सन’ राख्नुपर्नेमा जोड दिनुभयो । 

कुनै पनि मुलुकसँगको सम्बन्ध राजनीतिभन्दा आर्थिक सम्बन्ध स्थिर एवं बलियो रहेको विश्वको उदाहरण प्रस्तुत गर्दै उहाँले व्यवसायका माध्यमबाट देशको ब्रान्डिङ गर्न सकिने बताउनुभयो । 

नेपालको ‘कन्ट्री रेटिङ’ भइसकेको र राम्रो रेटिङ पाएकाले नेपालमा आवश्यक क्षेत्रमा लगानी भिœयाउन सहयोगी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । 

सन् २०२६ मा नेपाल विकसित मुलुकमा स्तरोन्नति हुने भएकाले देशले पाउँदै आएको सुविधा नघट्ने तथा नेपालको हित हेरेर सौविध्य व्यापार सम्झौता (पिटिए) गर्नुपर्ने उहाँको भनाइ छ । 

सो अवसरमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईले देशको प्रतिनिधिका रूपमा राजदूतहरूले नेपाली वस्तुहरूको प्रवर्धन, नेपाली व्यवसायीलाई आवश्यक सहजीकरण गर्ने बताउनुभयो । 

नेपाली व्यावसायिक क्षेत्रलाई सम्बन्धित मुलुकका लगानीकर्तासँग सम्पर्क स्थापना गर्न, नेपाली वस्तु तथा सेवा निर्यातमा आवश्यक सहजीकरणमा केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । परिसङ्घले उच्च व्यापार घाटा कम गर्न नेपाली वस्तुको प्रवर्धन, पर्यटन, सूचना प्रविधि, उद्योग, जलविद्युत्, पूर्वाधारमा लगानी केन्द्रित गर्न जोड दिएको छ ।