• ११ पुस २०८१, बिहिबार

पत्रकार लम्साललाई मानवअधिकार पुरस्कार

blog

कोशी प्रदेशस्तरीय मानवअधिकार वर्ष पत्रकारिता पुरस्कार मोरङका पत्रकार गणेश लम्साललाई सम्मान गरिँदै । तस्बिर : कोकिला ढकाल कोकिला ढकाल

कोकिला ढकाल

इलाम, मंङ्सिर २५ गते । आज अङ्ग्रेजी पात्रोअनुसार डिसेम्बर १० तारिख हो । आजको दिनलाई विश्वभर विश्व मानव अधिकार दिवसका रूपमा मनाइने गरेको छ । दिवसको अवसरमा आज इलाममा पनि विविध कार्यक्रम आयोजना गरिएको छ । 

मानव अधिकारका क्षेत्रमा क्रियाशील इलामस्थित मानव अधिकार मञ्च नेपालले आजकै अवसरमा कोशी प्रदेशस्तरीय मानव अधिकार वर्ष पत्रकारिता पुरस्कार वितरण गरेको छ । 

बर्सेनि मानव अधिकारका क्षेत्रमा कलम चलाउने कोशीका एक पत्रकारलाई सम्मान गरिने यो पुरस्कार यस वर्ष मानव अधिकार तथा विषेश गरी जातीय विभेदका क्षेत्रमा कलम चलाउँदै आएको विराटनगरका पत्रकार गणेश लम्साललाई प्रदान गरिएको छ ।  

मञ्चका अध्यक्ष मोहनसिंह थेवेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घीय सांसद महेश बस्नेतले पत्रकार लम्साललाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कारको राशि नगद १० हजार रुपियाँ छ । लम्साल लामो समयदेखि नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ । 

विश्व मानव अधिकार दिवसकै अवसर पारेर अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मानव अधिकार वर्ष पुस्तकमा समेटिने घटनाहरू पनि सार्वजनिक गरेको छ । यो वर्ष जिल्लामा घटेका मानव अधिकार हनन् र उलङ्घनका ६६ घटनामा ६८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

इन्सेकको प्रतिवेदनमा बलात्कारका १५, घरेलु हिंसाका सात, हत्याका चार, अभद्र व्यवहार नौ, भौतिक संरचनामा क्षति एक समेतलाई समेटिएको इन्सेक जिल्ला प्रतिनिधि मनोज अधिकारीले बताउनुभयो ।