नागेन्द्रकुमार कर्ण
महोत्तरी, मङसिर २५ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा निर्माण गरिएको सेफ हाउस निर्माण भएको एक वर्ष हुन लाग्दासमेत उपयोगमा आएको छैन ।
महिला अधिकारकर्मीहरुले महोत्तरी जिल्लामा विभिन्न हिंसाबाट पीडित भएका महिला तथा बालबालिकाहरुलाई राख्नको लागि जलेश्वरमा समस्या हुँदै आएको भन्दै सेफ हाउस भवन निर्माणको माग गर्दै आएका छन् ।
सेफ हाउस अभावमा महोत्तरी जिल्लामा हिंसामा परेका महिलाहरुलाई जनकपुर लग्नुपर्ने बाध्यता छ । सदरमुकाम जलेश्वरको वडानं. २ अस्पताल चोकमा रहेको पोखरीको पश्चिमपट्टि निर्माण गरिएको सेफ हाउस निर्माण भएको एकवर्ष हुन लाग्दासमेत सञ्चालनमा छैन ।
दुईकोठे सो सेफ हाउस तत्कालीन महिला, बालबालिका मन्त्रालयले हतार हतारमा विना मापदण्ड निर्माण गरेको कारणले सञ्चालन हुन नसकेको आरोप अधिकारकर्मीहरुको छ ।
विगतमा प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा कार्यरत रही सेफ हाउस निर्माणका लागि पहलकदमी लिनुभएका स्टाफ नर्स चण्डिका अधिकारीले तत्कालीन प्रदेश सरकारको महिला, बालबालिका मन्त्रालयले हतार हतारमा विना मापदण्ड सो सेफ हाउस निर्माण गराउन लगाएको बताउनुभयो ।
उहाँले निर्माण भएको सेफ हाउसमा न त वाउण्ड्री वाल छ न त शौचालय रहेको बताउनुहुँदै सो सेफ हाउस निर्माण विवादमा परेपछि काम ठप्प भएको बताउनुभयो । प्रदेश सरकारको १५ लाख बालुवामा पानी खन्याए सरह सो सेफ हाउस निर्माण भएको हो ।
सो सेफ हाउस निर्माण गराएका स्थानीय ठेकेदारले नाम नलेखिदिन भन्दै आफूले दुईकोठे भवन निर्माण गराएर अन्य काम सुरु गर्न लाग्दा इस्टिमेट अनुसार काम नभएको भन्दै रोकिएको बताउनुभयो । उहाँले सो भवन निर्माणमा खर्च भएको नौ लाख ६८ हजारको भुक्तानी गरिएको जानकारी दिनुभयो।
जलेश्वर नगरपालिका वडानं. २ का वडाध्यक्ष वरुण दाहालले सेफ हाउस भनेर निर्माण गरिएको भएपनि विवादको कारणले सो भवन वडालाई हस्तान्तरण नभएको बताउनुभयो । उहाँले सो भवन सम्बन्धमा आफूलाई थप जानकारी नभएको बताउनुभयो ।
स्टाफ नर्स अधिकारीले विगतमा महोत्तरीका अधिकारकर्मीहरुले पटक पटक विभिन्न निकायहरुमा जलेश्वरमा सेफ हाउस निर्माणको माग गर्दै आएपछि जलेश्वर नगरपालिकाले २ कठ्ठा सेफ हाउस भवन निर्माणका लागि उपलब्ध गराए पनि रकम अभावमा भवन निर्माण नभएको बताउनुभयो । जलेश्वर नगरपालिकाले वडा नं. २ सारीभारीमा रहेको कि.नं.१५३ बाट २ कठ्ठा जग्गा सेफ हाउस भवन निर्माणका लागि दिएको हो ।
महोत्तरीमा महिला तथा मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको इन्सेक महोत्तरीका प्रतिनिधि ममता विश्वकर्माले सेफ हाउस अभावमा लैङ्गिक हिंसा पीडित महिला तथा बालबालिकाहरुलाई सेवा दिन समस्या भइरहेको बताउनुहुँदै भवन निर्माण चाँडै हुनुपर्ने माग गर्नुभयो ।
जलेश्वरमा सेफ निर्माण गरिएको बारे आफुुलाई जानकारी नभएको बताउनुहुँदै उहाँले हिंसामा परेका महिला, बालबालिकाहरुलाई सेफ हाउस अभावमा प्रहरी कार्यालयमा राख्नुपर्ने बाध्यता रहेको तथा नभए जनकपुर पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
सरकारले लैङ्गिक हिंसापीडित महिला तथा बालबालिकालाई बहुसंयोजनद्वारा एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण सङ्कलन र संरक्षण, अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्र्थापना तथा जीविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)को गठन गरेको हो । तर सेफ हाउस अभावमा ओसिएमसीले चाहेको जस्तो सेवा दिन नसकेको ओसिएमसी महोत्तरीका प्रमुख स्टाफ नर्स रिंकुकुमारी साहले बताउनुभयो ।
उहाँले साउन यता २४ जना विभिन्न हिंसामा परेका पीडितहरुले ओसिएमसीमा सेवा लिएको बताउनुहुँदै सबभन्दा बढी पीडित जबरजस्ती करणीको रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा सबभन्दा बढी जबरजस्ती करणीको १५, जबरजस्ती उद्योग पाँच तथा अन्य बालबालिकासम्बन्धी पीडितहरु आएको बताउनुभयो ।