काठमाडौं, मङ्सिर २५ गते । काठमाडौंको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मंगलबार बिहान कबाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो ।
कबाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइनसकेको काठमाडौं महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
आगलागीको जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको जानकारी उहाँले दिनुभयो । आगलागी भएको स्थानमा जस्तापाताका टहराहरु बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको उहाँको भनाइ छ ।उहाँले स्काभेटर मगाएर जस्तापाता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताउनुभयो ।
‘‘यहाँ कवाडी, बङ्गुर पालन गरेको रहेछ । हामीले थाहा पाउने बित्तिकै आएर आगो नियन्त्रण लिँदैछौँ । नियन्त्रण पूरा भएको छैन । लगभग आधाआधा जति नियन्त्रणमा आइसकेको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘जस्ता भएका कारणले निभाउन अलि अप्ठ्यारो छ । स्काइभेटर बोलाएर निभाउने प्रयास गर्दैछौँ । आधा नियन्त्रणमा आएको छ । तीन वटा दमकल आएको छ । तीन वटाबाट निभाउने प्रयास भइरहेको छ ।’’
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।