एकिन्द्र तिमिल्सेना
टीकापुर, मङ्सिर २४ गते । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको सीमा कर्णाली नदीमा मृत अवस्थामा पाटेबाघको बच्चा फेला परेको छ ।
१३५ सेन्टिमिटर लम्बाई, ५० सेन्टिमिटर उचाइ, घाँटीको गोलाई ३० सेन्टिमिटर भएको मृत बाघ ६ महिना जतिको हुन सक्ने सब डिभिजन कार्यालय राजापुरका वरिष्ठ फरेष्टर उदय चौधरीले जानकारी दिनुभयो ।
मृत बाघको शरीरमा घाउचोट नदेखिएको, पानीमा बगेर आएको अवस्थामा भेटिएको र पोस्टमार्टम लागि बर्दिया राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुराद्वारा लैजान लागेको चौधरीले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज पाटेबाघको वासस्थान हो । पानी खान वा कर्णाली नदी तर्ने क्रममा डुबेर बाघ मरेको हुन् सक्ने अनुमान छ । स्थानीयले सोमबार बेलुका नदीमा पाटेबाघको बच्चा डुबेको अवस्थामा देखेका थिए ।
स्थानीयले जानकारी दिएपछि वन डिभिजन कार्यालय ठाकुरद्वारा, सब डिभिजन कार्यालय र बर्दिया राष्ट्रिय निकुञ्जलाई खबर गरेको इलाका प्रहरी कार्यालय राजापुरका प्रमुख डिएसपी सागर बोहराले जानकारी दिनुभयो ।