गोरखापत्र अनलाइन
काठमाडौं, मङसिर २४ गते । घरपालुवा कुकुरमा लाग्ने क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा पुष्टि भएको छ । सेन्टर फर डायनामिक नेपालको सहयोग र स्वास्थ्य लाइभ मिडियाको आयोजनामा बर्दिया राष्ट्रिय निकुञ्जमा गरिएको कार्यक्रममा कुकुरबाट क्यानाइन डिस्टेम्पर रोग वन्यजन्तुमा सरेको जानकारी दिइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. आयुस महर्जनले बर्दिया राष्ट्रिय निकुञ्जको चितुवामा क्यानाइन डिस्टेम्पर रोग पुष्टि भएको जानकारी दिनुभयो। बाक्लो बस्ती भएको ठाउँमा कुकुर खान चितुवा बस्तीमा आउँदा यो रोग वन्यजन्तुमा सरेको हुन सक्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “चितुवाले कुकुर खाँदा यो रोग सरेको हुन सक्छ । बाघमा समेत सरेको हुन सक्ने अनुमान गरिएको छ ।”
यो भन्दा अघि क्षयरोग मानिसबाट जङ्गली हात्तीमा सरेको थियो । क्यानाइन डिस्टेम्पर वन्यजन्तुमा सरेको सम्भवतः नेपालमा यो पहिलो भएको डा. महर्जनले दाबी गर्नुभयो । डा. महर्जनका अनुसार क्यानाइन डिस्टेम्पर एक अत्यन्त सङ्क्रामक भाइरल रोग हो । यो रोग विशेष गरी कुकुरमा देखिने गर्छ । क्यानाइन डिस्टेम्पर रोग लागेमा ५० प्रतिशत बढीको मृत्यु हुने उहाँ बताउनुहुन्छ । क्यानाइन डिस्टेम्पर रोग कुकुरको श्वासप्रश्वास, पाचन प्रणाली, आँखा र छालामा असर गर्ने डा. महर्जनको भनाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामले वन्यजन्तु र मानिसको सम्पर्क हुन नदिनु राम्रो भएको तर्क गर्नुभयो । ७० प्रतिशत गम्भीर रोगहरू जनावरबाट मानिसमा सर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसका कारण वन्यजन्तु र वन्यजन्तुका कारण मानिस जोखिममा पर्ने अवस्था छ । वन्यजन्तु स्वस्थ र सुरक्षित नभएको मानिस पनि सुरक्षित रहन सक्दैनन् । यसलाई कम गर्न आवश्यक कदम चाल्नुपर्छ ।”
ठाकुरबाबा नगरपालिका आर्थिक विकास सहायता प्रमुख कलम विष्टले स्थानीय जनप्रतिनिधिमा जुनोसिस रोगको बारेमा जानकारी नभएको प्रस्ट पार्नुभयो ।
जुनोसिस रोगबारे जानकारी नहुँदा यसको व्यवस्थापनमा कठिनाइ भएको उहाँको तर्क छ । जनप्रतिनिधिहरूलाई वान हेल्थको अवधारणाबारे पूर्ण ज्ञान हुन आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलले वान हेल्थको अवधारणा लिएर अगाडि नबढे महामारीजन्य रोगसँग लड्न कठिन हुने बताउनुभयो । उहाँले वन्यजन्तुका कारण मानिस ठुलो जोखिममा रहेको स्पष्ट पार्नुभयो । हरिण, बाख्रा र गाईहरू सँगसँगै चर्नु अत्यन्त दुखद रहेको उहाँको भनाइ छ । कार्यक्रममा डा. सन्तोष दुलालले स्वास्थ्यको अवधारणा अवलम्बन गरेर मात्र महामारीसँग जुध्न सकिने बताउनुभयो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नयाँ रोग जनावरबाट मानिसमा सर्नेक्रम जारी रहेकाले कुनै पनि समयमा विश्वमा फेरि ठुलो महामारी देखा पर्न सक्ने बताउनुभयो । उहाँले जुनोसिस डिजिजको समस्या अधिक भए पनि यो प्राथमिकतामा नपरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “वन्यजन्तुको मृत्यु के कारणले भइरहेको छ भन्ने कुरा गहिराइमा गएर अनुसन्धान गर्न आवश्यक छ ।”