• ९ पुस २०८१, मङ्गलबार

दाबीखोलामा पुल बनेपछि स्थानीय हर्षित

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, मङ्सिर २४ गते । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका ३ नम्बर वडा र ६ नम्बर वडा जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । उक्त पुलको पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्नुभयो । 

मोटरेबल पुल निर्माणसँगै स्थानीयलाई आवागमनमा सहज भएको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहोराले जानकारी दिनुभयो । २२ मिटर लम्बाइको सिङ्गल स्पानको पुल सञ्चालनमा आएपछि धुस्कुन, पिस्कर, चोकटी, तौथली, टेकानपुरलगायत सिधा सडक सम्बन्धमा जोडिएका छन् । २०७१ सालमा गएको जुरे पहिरोपछि महिनौसम्म अरनिको यातायात सञ्चालनमा आउन सकेको थिएन । त्यसबेला सुनकोशी–धुस्कुन–दाबी–टेकानपुर–झोलुङ्गे सडकलाई अरनिको यातायातका लागि वैकल्पिक सडकमार्ग बनाइएको थियो । अहिले पनि जुरे खण्डको सडक अवरुद्ध भएमा सोही सडक प्रयोग हुने गरेको छ । 

त्रिपुरासुन्दरीका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइबाका अनुसार चार करोड ४९ लाख नौ हजार ४२९ रुपियाँको बजेटमा २०७९ फागुनमा सम्झौता भई निर्माण सुरु भएको थियो । पुल बनेपछि घण्टौ लगाएर बाह्रबिसे पुगेर राजधानी र अन्यत्र जानुपर्ने समस्या हटेको नेपाली कांगे्रस एकाइ सभापति रामकुमार तामाङले बताउनुभयो । 

मोटरेबल पुलबाट यातायातका साधन आउजाउ गर्न थालेपछि गाउँघरमा उत्पादित कृषि सामग्री राजधानी, धुलिखेल, बनेपा तथा स्थानीय बजारसम्म सहज रूपमा पुग्न थालेको सभापति तामाङले बताउनुभयो । पिस्कर, धुस्कुन, तौथलीलगायत विकट स्थानमा पुग्न बाह्रबिसे वा लामोसाँघु घुमेर जानुपर्ने बाध्यता रहेकोमा दाबीखोलामा पुल सञ्चालनमा आएपछि सिधै उक्त क्षेत्रसम्म पुग्न सकिने उहाँले जानकारी दिनुभयो ।